छात्रालाई प्याड लगाउन सिकाउँदै प्रियंका र आयुष्मान

Posted on: 05 Mar, 2019

फागुन २१, धनुषाधाम । आयंका फाउण्डेशनले धनुषा जिल्लाका तीन विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । फाउण्डेशनले हरेक विद्यालयमा दुईवटा शौचालय, फल दिने ९ वटा बोटबिरुवा, २ थान डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड पनि वितरण गरेको छ । धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरिएको हो । 


फाउण्डेशनका अध्यक्ष एवं कलाकार प्रियंका कार्की, कोषाध्यक्ष आयुष्मान देशराज जोशी एवं सल्लाहकार सरोज ओलीको उपस्थितिमा भएको कार्यक्रममा महिनावारी सम्बन्धि सचेतना अभिवृद्धि पनि गरिएको छ । नायिका कार्कीले महिनावारीको विषयमा अहिलेसम्म खुलेर कुरा गर्ने संस्कारको विकास भईनसकेको भन्दै छात्राहरुलाई महिनावारी भएको समयमा सरसफाईमा ध्यान दिन आग्रह गरीन् ।  


कपडाबाट बनेको सो प्याडलाई धोएर एक वर्षसम्म प्रयोग गर्न मिल्ने उनले बताइन् । एउटा झोलामा चार थान प्याड, दुई थान अन्डरवेयर, साबुनलगायतका सामग्री रहेको उनले जानकारी दिईन् ।  कार्यक्रममा उनले प्याड प्रयोग गर्ने तरिकासमेत छात्राहरुलाई सिकाएकी थिइन् । यस्तै, नायक आयुष्मान देशराज जोशीले महिनावारी लाज र महिलाको मात्र विषय नभएको बताए । महिनावारी भएको समयमा महिलाको पिडा कम गर्न पुरुषले पनि सहयोग गर्नु पर्नेमा जोड दिए । न महिना वारी, न महिना पारी, म हुँ महिनाभरी लेखिएको टिर्सट लगाएर कार्यक्रममा उपस्थित भएका उनीहरुको यो आयंका फाउण्डेशनको तर्फबाट पहिलो सामाजिक काम हो । कार्यक्रममा महिला सचेतनामा आफुहरु निरन्तर लाग्ने प्रतिबद्धता पनि उनीहरुले जनाएका छन् । प्रियंका र आयुष्मानलाई खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दूतमा नियुक्त गरेको थियो । फाउण्डेशनलाई शौचालय निर्माणमा पञ्चकन्या ग्रुपले सहयोग गरेको छ भने प्याड वितरणमा केजीएच ग्रुपले सहयोग गरेको हो । यस्तै, झोला, डस्टविन र बिरुवालगायतका सहयोग सामग्री प्रियंका र आयुष्मानले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!