कार्टुन क्रीउजको अहिलेसम्मकै फरक म्युजिक भिडियो सार्वजनिक (भिडियो)

Posted on: 01 May, 2019

बैशाख १८, काठमाडौं । नृत्य समूह कार्टुन क्रिउ भन्नासाथ अधिकांश दर्शकको दिमागमा सरोज अधिकारी र आश्मा विश्वकर्माको समूहको बेजोड नृत्यको सम्झना आउँछ । तर सम्भवत पहिलोपटक यो समूह अलिक फरक किसिमको गीतको भिडियोमा देखिएको छ । यो गीतमा सरोज र आश्मा न त रोमान्टिक बनेका छन् । न त उनीहरुका साथीहरुले रोमान्टिक हुने वातावरण नै बनाइदिएका छन् ।

गायक संजिब पराजुलीको नयाँ गीत ‘सोचमा’को भिडियोमा सरोजलाई बसको सहचालक र आश्मालाई कलेजकी विद्यार्थीको रुपमा देखाइएको छ । सेन्टिमेन्टल फ्लेभरको गीत सुन्दा र दृश्य हेर्दा निकै आनन्द लाग्छ ।

कार्टुन क्रुका सरोजले फरक किसिमको गीतमा अभिनय गर्न पाउँदा नौलो अनुभव भएको बताए । ‘हामी प्रायः डान्सिङ नम्बरको गीतमा मात्र काम गथ्र्यौ । तर यसपटक अलिक फरक सेन्टिमेन्टल किसिमको गीतमा देखिएका छौं । दर्शकका लागि यो नौलो स्वादको हुनेछ,’ सरोजले भने ।

गायक सन्जिबले गीतले एकोहोरो प्रेममा परेको एक युवकको कथालाई समेटेको बताए । ‘मैले अहिलेसम्म बजारमा ल्याएका गीत भन्दा यो गीत केही हिसाबले फरक छ’, उनले भने ।

गीतमा शब्द र संगीत कमल खत्रीको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । गीतमा कार्टुन क्रिउसँगै गायक संजिब पनि फिचर्ड छन् । अघि गायक संजिब र कार्टुन क्रिउको सहकार्यमा ‘नाइँ मलाई थाहा छैन’ बोलको गीतको भिडियो निकै चर्चित भएको थियो । भिडियोमा सरोजको निर्देशन तथा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन, लाक्पा डी लामाको सम्पादन छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!