लिम्बु चलचित्र “के” आदिवासी जनजाती चलचित्र महोत्सवमा प्रदर्शन हुने

Posted on: 02 Jun, 2019

कमल घिमिरे।जेष्ठ१९।पाँचथर, पाँचथरमा निर्माण गरिएको लिम्बु चलचित्र “के” आदिवासी जनजाती चलचित्र महोत्सवमा प्रदर्शन हुने भएको छ ।

  नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको आदिवासी जनजाति चलचित्र महोत्सव आगामी जेठ २४, २५ र २६ गते काठमाडौमा हुने भएको हो । सोही महोत्सवमा लिम्बू कथानक चलचित्र “के” प्रदर्शनको लागि छनौट भएको छ । 

 याक्थुङ समुदायले आफ्नो मौलिक बाजा तथा राष्ट्रिय बाजा च्याबु्रङ निर्माण गर्दा राज्यले गरिरहेको असांस्कृतिक व्यवहारलाइ चित्रण गरेर निर्माण भएको चलचित्र “के” मा सागर केरुङको लेखन निर्देशन, टाइसन केरुङ र बुद्धराज लिम्बूको निर्माण, प्रेम पन्दाकको संगीत, सुनिता सुब्बाको स्वर र मधु केरुङ, बबिता फोम्बो, कमल घिमिरे, रुपा आङबुहाङ, प्रेम ओझा, मनकुमार केरुङ, सुक्मिता केरुङ, सन्देश सुब्बा, डिआर हाङ्सरुम्बा, आर.के. थेबे , अप्सरा नेउपाने, संघर्ष खतिवडा, संगीता लावती, दिपक खनाल लगायतले अभिनय गरेका छन् । 

लिम्बु चलचित्र ”के” जेष्ठ २५ गते शनिबार दिउँसो ४ः१५ बजे राष्ट्रिय सभा गृहमा प्रदर्शन हुने चलचित्रका लेखक निर्देशक सागर केरुङले बताउनुभएको छ । 


महोत्सवमा दर्शकहरुबाट छनौट भएको उत्कृष्ट चलचित्रलाई पब्लिक च्वाइस अवार्ड,उत्कृष्ट आदिबासी जनजाती चलचित्र(जुरी अवार्ड), अभिनय तर्फ महिला/पुरुष उत्कृष्ट कलकार अवार्ड,उत्कृष्ट निर्देशक,उत्कृष्ट क्यामेरामेन गरी जम्मा ६ विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।

(महोत्सवमा प्रदर्शन हुने “के” चलचित्रको प्रोमो)



यस बिषयमा तपाइको प्रतिक्रिया...!