डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु

Posted on: 06 Dec, 2019

मंसिर २०, डोटी | डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायाङ्कन शुरु भएको हो। सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्माता एवं अभिनेता विनोद बोहरा ‘बोगटानी किङ’ रहेका छन्। त्यस्तै निर्देशकमा बाबु थिङ र कार्यकारी निर्माता राज पाठक रहेका छन्। चलचित्रमा अभिनेत्रीहरु एलिषा चाड र मनिषा चाडको अभिनय छ भने यादव गिरी, नरेन्द्र खड्का, तेजा ऐर, मीना सोब, सौगात ओझा, सुरेन्द्र सङ्गम लगायतका कलाकारहरुको सहभागिता रहेको छ।

चलचित्रको नामकरण र कथावस्तु दिपायलकै सेरोफेरोमा आधारित रहेर तयार पारिएको निर्माता-अभिनेता बोहराले बताए। भगवान् श्रीरामका पूर्वज राजा दिलीपले पूजा गर्ने गाई ‘नन्दिनी’का नामबाट चलचित्रको नामकरण गरिएको उनले बताए। परापूर्वकालमा राजा दिलीपले गोलोकबाट नन्दिनी गाई ल्याएर दिपायलमा तपस्या गरेको किंवदन्ती छ। सो गाईद्वारा नै दूधको धारा दिइरहेको ठाँउमा भेटिएको जोतिर्लिङ्गको पूजा, आराधना गरी तपस्या गर्दा राजा दिलीपले मुक्ति पाएको पौराणिक मान्यता रहेको छ। 

सोही ठाउँमा अहिले ‘दिल्पेश्वर मठ’ बनेको छ। यही मठको नामबाट दिपायलको नामकरण भएको मानिन्छ। मठमा अहिले सयौँ वर्ष पुरानो नन्दिनी गाईको सिङ र भगवान श्रीरामको ‘खराउ’ (चप्पल) सुरक्षित राखिएको छ। सोही नन्दिनी गाईको सिङलाई आधार बनाएर कथावस्तु तयार पारी चलचित्र निर्माण हुनलागेको निर्माता बोहराले बताए।

उनले भने, “चलचित्रको कथा त्यसै सिङको वरिपरि घुमाएका छौँ, यहाँको ऐतिहासिक पक्षलाई ध्यान दिएर दिपायलको प्रचारप्रसार गर्नेछौँ।” चलचित्रको ६० प्रतिशतभन्दा बढी छायाङ्कन दिपायल क्षेत्रमा गरिने जनाइएको छ। त्यसबाहेक, शैलेश्वरी मन्दिर, धनगढी, जोरायल र खप्तड क्षेत्रमा पनि छायाङ्कन हुने निर्देशक बाबु थिङले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!