भारतीय गायिका आशा भोस्ले नेपालमा

Posted on: 25 Dec, 2019

पुष ९, काठमाडौँ | साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले  आज साँझ नेपाल आउनुभएको छ  । त्रिभुवन विमानस्थलमा  झाँकीसहित उहाँको स्वागत गरियो । भोस्लेको स्वागतका लागि यहाँका केही वरिष्ठ कलाकार पनि विमानस्थल पुग्नुभएको थियो  । 

भोस्लेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उहाँले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार  गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो । उहाँ पशुपतिनाथलगायत स्थान पनि जाने कार्यक्रम छ । 

“उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, मोक्तानले भन्नुभयो । यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसक्नुभएको छ । 

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,  गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिनुभएको छ । “नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ”, मोक्तानले भन्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!