पश्चिमाञ्चल क्याम्पसका विद्यार्थीहरुले बनाए सोलारबाट चल्ने चारपाङ्ग्रे कार

Posted on: 01 Oct, 2016


असोज १५, पोखरा । पोखरा ईन्जीनियरङि अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपालमा नै पहिलोपटक सोलारबाट चल्ने चारपाङ्ग्रे कार निर्माण गरेका छन । विद्यार्थीहरुले चारपाङग्रे सोलार कार निर्माण नेपालमानै पहिलो पटक भएको दावी गरेका छन । 

सोलार हाइब्रिड नाम दिइएको उक्त कार ईन्जीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस , मेकानिकल विभाग अन्तर्गत चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरु दिपेश कार्की, खगेन्द्र कार्की, कृष्ण प्रसाद तिमिल्सिना, प्रयास रिमाल, सागर अधिकारी, राजन खनाल, सौगात कोइराला र सुमित ढकालले निर्माण गरेका हुन ।

गत वर्ष नेपालमा भएको नाकाबन्दीको समयमा प्रेट्रोल पम्पहरुमा सवारीको लाइन र त्यसमा पनि पेट्रोलको समस्याले गर्दा कैयौ मानिसहरुले दुख पाएको आफुहरुले महसुस गरेर सोलार हाइब्रिड कार निर्माण गर्ने लक्ष्य राखेको र सोही अनुरुप एक वर्षको अवधिमा कार निर्माण सम्पन्न गरेका हुन । 

कार निर्माणकर्ताका एकजना राजन खनालका अनुसार नेपालमा पेट्रोलियम पदार्थको अभावमा मानिसहरुले सवारी साधन सञ्चालन गर्नमा निकै कठिनाइ बाधा ब्यवधानहरु वेहोर्नुपरेको आफुहरुले नजिक बाट महसुस गरेको र त्यसैलाई मध्येनजर गरेर एक वर्षको अवधिमा कार निर्माण गर्न आफ्नो टीम सफल भएको वताए ।

विश्वमा देखिएको उर्जा संकट र पेट्रोलियम पदार्थको अभावमा पनि हामी सवारी सञ्चालन गर्न सक्छौ भनेर देखाउनका लागी आफुहरुले एक वर्षदेखि यो प्रोजेक्ट सुरु गरेको र लामो मेहनत पश्चात सफल हुदा खुसी लागेको उनले वताए । 

आफुहरुले निजी तवरबाट यस्ता क्रियाकलापहरु सफलताका साथ सञ्चालन गर्दापनि सरकारले कुनै वास्ता नगर्दा आफुहरुलाई निकै अफ्ठेरो पर्ने र आफ्नो मेहनत कतै खेर जाने होकी भन्ने चिन्ता आफुहरुमा रहेको उनले वताए । आफुहरुले कारलाई परिमार्जित गर्दै नेपालमानै निर्माण भएको हुलास मुस्ताङ कम्पनी संग सहकार्य गरेर अत्याधुनिक ढंगले सञ्चालन गर्ने लक्ष्य राखेको समेत वताए ।

नेपालमानै पहिलो पटक सोलारबाट कार निर्माण गरेको दावी गर्ने विद्याथीहरुले कार चलाउनका लागी नौ सय वाटको डि.सी. मोटर जडान गरी १२ भोल्टको १०० ब्जको ४ वटा ब्याट्री जडान गरी १५० वाटको दुई वटा सोलार प्यानल जडान गरेका छन । 

करिब ३ लाखको लागतमा निर्माण सम्पन्न भएको कारमा ४ जनाको सिट क्षमता रहेको र ३० किलो मिटर प्रतिघण्टा गुड्न सक्ने क्षमता रहेको छ । सोलार हाइब्रिड कार पोखरा उपत्यकाको जुनसुकै उकालोमा पनि सजिलै गुड्न सक्ने निर्माण पक्षले जनाएको छ । 

कारले विश्वमा हुदै गएको उर्जा संकटको उचित समाधान र वातावरण मैत्री भएकाले छोटो दुरीका लागी उचित सवारी साधन हुनेमा निर्माण पक्षले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!