बैतडीको ब्राण्डेड मह किलोको आठ सय

Posted on: 28 Nov, 2016

माग बढेसंगै मुल्य पनि बढ्यो

नरी बडु, मंसिर १३ बैतडी । 

मह उत्पादनमा ख्याति प्राप्त बैतडी जिल्लामा यसपाली उत्पादन घटेपछि ब्राण्डेड महको मूल्य गाउमै किलोको ८ सय रुपैंया पुगेको छ ।

विगतमा टीन र डिब्बामा खन्याएर बेचिने बैतडीको मह यसपाली किसानहरु समुहमा आवद्ध भएर उत्पादन गर्न थालेपछि प्याकिन, म्याद निर्धारण र गुणस्तरको बारेमा जानकारी सहितको “बैतडीको मह” ब्राण्डको नाम दिएर प्रतिकिलो आठ सयका दरले बेचिदैछ ।

“यहिले जिल्लामै प्याकिङ लगायत सबै काम गरेर मह निकासि गरीरहेका छौँ” लघु उद्यमी संघ बैतडीका अध्यक्ष तथा माहुरीपालक किशासन इन्द्रदेव सरण भट्टले भने ।

महको माग ह्वात्तै बढेको र तुलनात्मक रुपमा उत्पादन नबढेकाले मुल्या एक्कासि आकासिएको भट्टको भनाई छ । आफुहरु अबका दिनमा उत्पादन बढाएर मुल्य घटाउने प्रयासमा रहेको उहाँको भनाई छ ।

माहुरीपालन बढेपनि उत्पादन कम हुदा बर्षेनी मूल्य बढ्दै गएको हो । गतबर्ष प्रतिकिलो ६ सयमा बिक्रि भएको थियो । उत्पादन घटेकाले बजारमा मह आउन सकेको छैन ।

८ सय किलोका दरले किन्न गाँउमै ग्राहक आउने गरेको कृषकहरुको भनाई छ । बैतडीको श्रीकेदार, श्रीकोट, सित्तड, थलाकाडा, सिगास, शिवलिंग, दुर्गाभवानी, दशरथचन्द नगरपालिका लगायतका क्षेत्रमा माहुरी पालन हुदै आएको छ । जिल्लाभर एक हजार ५ सय भन्दा बढी माहुरी पालक किशानहरु रहेको लघु उद्यमी समूह संघको तथ्यांक छ । ती मध्ये छ सय जना कृषक उद्यमी समूहमा आवद्ध छन् ।

धेरैजसो कृषकले ५ देखि १० घारसम्म माहुरी पालेका छन् । सबैलाई समूह र सहकारी मार्फत आवद्ध गराउन सके कृषक र ग्राहक दुवैलाई फाईदा हुने संघको धारणा छ । ‘आशा गरे अनुसार उत्पादन नहुदा महको मूल्य बढेको हो, माग बढी भएकाले मूल्य ७ सय राख्न खोजेपनि सकिएको छैन ।’

अध्यक्ष ईन्द्रदेव भट्टले भने, ‘छरिएर रहेका समूह र सहकारीबाट संकलन गरी बिक्रि गर्न सके कृषक र उपभोक्ता दुवैलाई फाईदा हुनेछ ।’ यहाँको मह भारतको उत्तराखण्डका साथै नेपालको तराई र काठमाण्डौंसम्म जाने गरेको छ ।

केही ठाउमा गोलो बनाएर भाग्ने, घार भित्रै मर्ने, कमिला लाग्ने लगायतका समस्या आएको कृषकहरु भनाई छ । यो वर्ष ५० प्रतिशत उत्पादन घटेको कृषकहरुको अनुमान छ । बैतडीमा ९० टन सम्म मह उत्पादन हुन्छ ।

यहाँको मह पुर्ण आर्गानिक हुने भएकाले माग बढेको हो । “उपभाक्ताहरुले फिल्टर गरेको मह भन्दा चाका सहितको मह किन्न रुचाउने गर्दछन तर चाकाको महमा उपभोक्ताहरुलाई घाटा हुन्छ” जिल्लाको दशरथचन्द नगरपालिका ४ पल्लाचौँडालीका माहुरीपालक किसान बासुदेव भट्टले भने ।

उपभोक्ताले किसानप्रतिको अविश्वासले चाका सहितको मह किनेपनि उक्त महमा रहेको चाका खान योग्य नहुने भएकाले उपभोक्तालाई घाटा हुने गरेको उहाँको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!