बडाचौर विमानस्थल सञ्चालनको प्रतीक्षामा छन् रोल्पाली

Posted on: 16 Jan, 2017


रमेश लम्साल/माघ ३, रोल्पा । ‘पञ्चायतकालमा चलेको विमानस्थल बहुदल आएपछि बन्द भयो, नयाँ व्यवस्था आएपछि जनताले थप सुविधा पाउलान् भनेको त भएको संरचनासमेत बन्द गरेर राज्यले हामीलाई सौतेलो व्यवहार ग¥यो, अब भने फेरि विमानस्थल सञ्चालन हुन्छ कि भन्ने आशा जागेको छ’ पूर्वी रोल्पाको बडाचौरमा भेटिएका अमरबहादुर बुढाको आशा मिश्रित गुनासो हो यो । 

तत्कालीन मन्त्री बालाराम घर्ती मगरको पहलमा सञ्चालनमा ल्याइएको बडाचौर विमानस्थल अहिले बन्द अवस्थामा मात्रै छैन गाईबस्तु चर्ने चौरमा परिणत भएको छ । पटक पटक काठमाडौँ धाउँदासमेत राज्यको प्रमुख प्रशासनिक निकाय सिंहदरबारले आफूहरुको माग नसुनेको उल्लेख गर्दै घर्तीले भन्नुभयो – “रोल्पा जिल्लाले उपराष्ट्रपति, सभामुख, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पाएको छ । राज्यका विभिन्न निकायमा रोल्पाको महत्वपूर्ण उपस्थिति छ । यसले पक्कै पनि रोल्पालीको विकास निर्माणको सपना साकार पार्नेछ ।” 

तीसको दशकमा स्थानीयवासीले डोकोमा माटो बोकेर निर्माण गरेको विमानस्थल २०३५ देखि २०४६ सालसम्म अनवरत रुपमा सञ्चालनमा आयो । रोल्पा, डोल्पा, भैरहवा र काठमाडौँ नियमित उडान हुन्थ्यो । रोल्पाको सुलिचौरमा बस सेवा पुगेपछि यात्रु नपाएको भन्दै नेपाल वायु सेवा निगमले हप्ताको एक दिन गर्दै आएको उडान तालिका कटौती ग¥यो । 

नियमित नभए पनि सातामा एउटासम्म उडान भइदिए हुन्थ्यो भन्ने रोल्पालीको माग छ । सुलिचौरबाट बडाचौर विमानस्थल सात किलोमिटर टाढा छ भने सदरमुकाम लिवाङबाट २८ किमी टाढा छ । दुवै स्थानमा सहज रुपमा यातायात सञ्चालन भएकाले विमानस्थलसँगको सम्पर्क पनि सहज छ । राप्रपाका जिल्ला अध्यक्षसमेत रहनुभएका घर्तीले रासससँग भन्नुभयो – “अहिलेको सरकारले केही बजेट उपलब्ध गराउँछु भनेको छ । हामी रोल्पालीलाई विमानस्थल पुनः सञ्चालन हुन्छ भन्ने आशा जागेको छ ।” 


निगमको ट्विनअटर जहाज चल्ने सो विमानस्थल विस्तार गर्न सकिने प्रशस्त स्थान रहेको छ । एक हजार ५०० मिटर लामो धावनमार्ग निर्माण हुन सक्ने सम्भावना रहेको रोल्पाका स्थानीय विकास अधिकारी सुशील वैद्य बताउनुहुन्छ । 

रोल्पा मिजिङ–२ का तुकमान विष्टलाई पनि विमानस्थल सञ्चालनमा आइदिए हुन्थ्यो भन्ने लागेको छ । “यात्रु नभएको भन्ने निगमको भनाइमा मलाई पटक्कै विश्वास छैन, सुविधा पाए रोल्पालीले नियमित रुपमा जहाज सञ्चालन हुने वातावरण बनाउन सक्छन्,” विष्टले भन्नुभयो – “सबैतिर पहल गरिएको छ । यसपटक भने नेताहरुले विमानस्थल चलाउने भन्नुभएको छ । आशा छ बन्द भएको २७ वर्षपछि विमानस्थल सञ्चालनमा आउँछ ।” 

बडाचौर–४ का मोहनसिंह विष्टलाई पनि विमानस्थल सञ्चालनमा आइदिए बूढेसकालमा एकपटक चरा जस्तै उडौँला भन्ने रहर छ । उमेरले ७७ वसन्त काटे पनि शरीरमा अझै जोस रहेको र सरकारले आग्रह गरे विमान चलाउन विमानस्थलमा श्रमदान गर्न आफू तयार रहेको विष्टले बताउनुभयो । 

धेरै मान्छेले बालाराम घर्तीको विमानस्थल भनेर खिसीटिउरी गरेको स्थानीयवासीलाई मन परेको छैन । राम्रो काम जसले गरेको भए पनि त्यसलाई स्वीकार गर्नुपर्ने र सहयोग गर्नुपर्ने स्थानीयवासीको आग्रह छ । 

उपराष्ट्रपति नन्दबहादुर पुनले विमानस्थल सञ्चालनमा ल्याउनेबारे आफूले सरकारसँग कुरा गरेको र छिट्टै बजेटको व्यवस्था गरेर काम सुरु गरिने आश्वासन दिनुभयो । आइतबार विमानस्थलको स्थलगत निरीक्षणसमेत गर्नुभएका उपराष्ट्रपति पुनले रोल्पाली नेता एवम् उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई तत्काल रु दुई करोड बजेट उपलब्ध गराइदिन आग्रहसमेत गर्नुभयो । 


लामो समय बन्द हुँदा विमानस्थल गौचरनमा परिणत भएको छ । घाँस काट्ने र गाईबस्तु चराउने स्थानका रुपमा परिचित विमानस्थललाई तारबार लगाउन, काँडेतार लगाउन र सम्याउन पनि तत्काल रु दुई करोड आवश्यक पर्दछ । गाभ्रेलमात्रै गर्न सकिए विमान चलाउन सहज हुन्थ्यो । नेकपा (माओवादी केन्द्र)का नेता कुलप्रसाद केसीले स्थानीयवासीको मागअनुसार विमानस्थल सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । 

उपराष्ट्रपतिको आग्रहलाई सकारात्मक रुपमा लिँदै अर्थमन्त्री महराले विमानस्थल सञ्चालनका लागि आफूले विशेष पहल गर्ने बताउनुभयो । उहाँले बडाचौर आफ्नो निर्वाचन क्षेत्रसमेत भएकाले आवश्यक बजेट व्यवस्था गरेर विमानस्थल विस्तार गर्ने र नियमित सञ्चालनका लागि पहल गर्ने स्पष्ट पार्नुभयो । 

पूर्व अर्थमन्त्री वर्षमान पुनले विमानस्थल सञ्चालनका लागि स्थानीयवासीलाई पनि विशेष पहल गर्न आग्रह गर्दै सरकारलाई ध्यानाकर्षण गराएर बजेट व्यवस्था गरिने बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!