बैतडी लगायतका पहाडी जिल्लामा दुर्घटना न्यूनीकरण गर्न स्टिलबार लगाइयो

Posted on: 14 Feb, 2017


फागुन ३, बैतडी । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिब रु २० करोडको सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाउने काम भइरहेको छ । 

विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजना अन्तर्गत बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–झुलाघाट सडकखण्ड र महाकाली राजमार्ग अन्तर्गत बैतडीकै सतबाँझदेखि दार्चुला सदरमुकाम खलङ्गा जोड्ने सडकखण्डको २६ दशमलव ५ किलोमिटरमा स्टिलबार लगाउने कार्य भइरहेको हो । 

निर्माण कार्यको ठेक्का पाएको गौरी पार्वती सूर्य जेभी कन्सट्रक्सन तीनवटैै राजमार्गका दुर्घटना हुनसक्ने क्षेत्रमा स्टिलबार लगाइरहेकोछ । 

खोड्पेदेखि बझाङ सडकखण्डको कुल १०६ किलोमिटर सडकको दुर्घटना बढी हुनसक्ने क्षेत्रमा ११ दशमलव ४५ किलोमिटरमा स्टिलबार लगाउने कार्य सम्पन्न भइसकेको सुपरभाईजिङ कन्सल्टेन्ट (आईओडब्लु) पंकज चन्दले राससलाई जानकारी दिनुभयो । 

यस्तै, बैतडीको सतवाँझ–झुलाघाट सडकखण्डको कूल ३७ किलोमिटर सडकमध्ये बढी दुर्घटना हुनसक्ने ४ दशमलव ७ किलोमिटर क्षेत्रमा र सतवाँझ–गोकुलेश्वर दार्चुला सडकखण्डको कुल १२६ किलोमिटरमध्ये बढी दुर्घटना हुनसक्ने १० दशमलव तीन किलोमिटर क्षेत्रमा पनि स्टिलबार लगाउने कार्य भइरहेको उहाँले बताउनुभयो । 

विसं २०७४ असार मसान्तसम्म सक्ने लक्ष्यअनुसार विसं २०७२ फागुनदेखि सुरु भएको उक्त कार्यमा हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेकोे छ । 

पहाडको बाटो त्यसैमा पनि सिङ्गल लेन साँघुरो बाटोमा बढी दुर्घटना हुने सम्भावना हुन्छ आइओडब्लु चन्दले भन्नुभयो “स्टिलबार लगाइसकेपछि दुर्घटना न्यूनीकरण हुन्छ ।” 

स्टिलबार लगाइसकेपछि चालक होसियार हुनुका साथै आत्मविश्वास बढ्ने से १ ख १३३३ ट्रकका चालक धर्मानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “घुमाउरो बाटो दुर्घटनाको सम्भावना बढी हुन्छ, स्टिलबार लगाएपछि गाडी चलाउन सजिलो छ ।” 

पहाडी सडक, भिर, घुमाउरो अनि सिङ्गल लेन भएको यी सडकमा नयाँ तथा पहिलोपटक गाडी चलाउने चालक डराउने गरेको र स्टिलबार लगाइसकेपछि त्यो समस्या समेत हट्ने विश्वास गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका कार्यबाहक इन्चार्ज डिल्लीप्रसाद आचार्यले स्टिलबारले सवारी दुर्घटनाको सम्भावना कम गरेको बताउनुभयो । उहाँले भन्नुभयो “ दिनमा स्टिलबार सुरक्षा गर्छ भने रातिको समयमा स्टिलबारमा लगाइने रिफ्लेक्सन लाइटले दुर्घटनाको सुम्भावना कम हुन्छ ” 

यसका साथै चालकलाई सवारी साधन चलाउन सहज रहेको र सडक सुरक्षा परियोजनाको यो उत्तमकार्य भएको समेत जिल्ला ट्राफिक कार्यालय बैतडीका कार्यबाहक इन्चार्ज आचार्यको भनाइरहेको छ । स्टिलबार लगाइसकेपछि दुर्घटनामा कमी आउने भएकोले ट्राफिक प्रहरीलाई समेत सवारी व्यवस्थापनमा सजिलो हुने उहाँको भनाइ रहेको छ । 

बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको सतवाँझ–झुलाघाट सडकखण्ड र महाकाली राजमार्ग अन्तर्गत बैतडीकै सतबाँझदेखि दार्चुला सदरमुकाम खलङ्गा जोड्ने सडकखण्डसँगै विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा, सडक सुरक्षा आयोजना अन्तर्गत सुर्खेत, जुम्ला, जाजरकोट र रुकुमको सितलपाटी–मुसिकोट सडकखण्डमा पनि स्टिलबार लगाउनेकार्य भइरहेको बताइएको छ । 

यसअघि विश्व बैंकको सहयोगमा सडक सुरक्षा योजना अन्तर्गत कालोपत्रे भएका सडकमा स्टिलबार लगाउने कार्य भइरहेको बताइएको छ । स्टिलबारसँगै ग्याबियनबार लगाउने कार्य पनि सुरु भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!