सौराहामा खाना महोत्सव सम्पन्न

Posted on: 16 Feb, 2017

फागुन ५, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १० बजे फेस्टिबलको समापन गरिएको हो । 

यस वर्ष विगतभन्दा उत्साहप्रद रुपमा फेस्टिबल सम्पन्न भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान)का अध्यक्ष लालबहादुर भट्ट राजनले जानकारी दिनुभयो । उहाँका अनुसार फेस्टिबलमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । करिब रु ५० लाखको कारोबार भएको अनुमान छ । 

प्रेम दिवसका दिन मङ्गलबार सबैभन्दा बढी दर्शक आएको आयोजक समितिका संयोजक नरेश गिरीले जानकारी दिनुभयो । ‘प्राकृतिक सौन्दर्य, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित सौरहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर खाना महोत्सव आयोजना गरिएको थियो । 

आयोजना हुन लागेको खाना महोत्सवमा विभिन्न परिकारका नेपाली तथा विदेशी खानासहित स्थानीय थारू समुदायको परिकारमा दर्शक लोभिएका थिए भने दैनिक रुपमा राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए । 

राष्ट्रिय कलाकार तथा गायक राजेशपायल राई, पशुपति शर्मा, बद्रि पँगेनी, प्रजापति पराजुली लगायतले प्रस्तुति दिएका थिए । यो समयमा पर्यटकको मौसम नभएकाले आएका पर्यटकको बसाइ लम्ब्याउने र अन्य पर्यटकलाई पनि आउन प्रेरित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको क्षेत्रीय रेवानका महासचिव दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । 

महोत्सव अवधिभरमा रेस्टुरेन्ट तथा होटलमा १५ प्रतिशत छुट तथा साना पर्यटन व्यवसायीद्वारा ३० प्रतिशतसम्म छुट सुविधा दिइएको जनाइएको छ । महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेलमैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने जनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!