प्रेस चौतारीको बक्तब्यबाजी लोकतन्त्रको मर्ममाथि प्रहार

Posted on: 05 Mar, 2017

सास । फागुन २२, बर्दिया । 

पत्रकार महासंघ बर्दिया शाखाको अधिवेशन अवैधानिक भएको भन्दै हिजो प्रेस चौतारीले निकालेको विज्ञप्तिप्रति ध्यानाकर्षण जनाउँदै आज नेपाल प्रेस यूनियन जिल्ला शाखा बर्दिया र प्रेस सेन्टर नेपाल जिल्ला शाखा बर्दियाले अलग–अलग प्रेस विज्ञप्ति जारी गरेका छन् ।

नेपाल प्रेस यूनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष विनयराज भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा केही साथीहरुले यसरी बक्तब्यबाजी गर्नु भ्रमपूर्ण रहेको र यसले लोकतन्त्रको मर्ममाथि नै प्रहार गरिएको कुरा उल्लेख गरिएको छ । अध्यक्ष मीनराज शर्माले महासंघलाई तिर्नुपर्ने रकम तिर्न नसकेकोले अधिवेशन हलमा उपस्थित हुन नसकेको बक्तब्यबाजी गर्ने साथीहरुलाई थाहा हुँदाहुँदै पनि सबै कुरा कपोलकल्पित भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै अधिवेशनमा गणपूरक संख्या भन्दा पनि बढी साधारण सदस्यहरुको उपस्थिति भएको, शाखामा पुराना तथा नयाँ सदस्यहरुको लिस्ट आइपुगेको र केन्द्रिय अध्यक्षले हस्ताक्षर गरेर अधिवेशन सम्पन्न गर्न प्रतिनिधी पठाउनुभएको कुरा उल्लेख गरिएको छ । विज्ञप्तिमा अधिवेशनका निर्वाचन समितिका संयोजक पनि नियोजित रुपमा अनुपस्थित हुनु र नागरिक समाजका संयोजक भनेर चिनाउन चाहने वहाँ अमुक पार्टीको निर्देशित व्यक्ति भएकोले वहाँकै निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठेको छ । त्यसैले पूर्वाग्रही ढंगले बक्तब्यबाजी गरेर हिड्नु भन्दा एकताबद्ध भएर महासंघलाई सशक्त बनाउन एकजुट हुन विज्ञप्तिमार्फत आग्रह समेत गरिएको छ । 

यसैगरी प्रेस सेन्टर नेपाल बर्दिया शाखाका अध्यक्ष मेनका चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पनि प्रेस चौतारी नेपाल बर्दिया शाखाद्वारा निकालिएको विज्ञप्तिप्रति संगठनको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष आफैले आव्हान गरेको अधिवेशनमा आफै उपस्थित नहुनु चरम गैर जिम्मेवारी कार्य भएको उल्लेख छ । साथै फागुन २० मा भएको अधिवेशन विधिवत रुपमा सम्पन्न भएको छ त्यसैले पूर्वाग्रही ढंगबाट बक्तब्यबाजी गर्दै हिड्नु भन्दा पनि एकतावद्ध भएर महासंघलाई सशक्त बनाउन आग्रह गरिएको छ । 















यस बिषयमा तपाइको प्रतिक्रिया...!