रामेछापका एलडिओबाटै आचारसंहिता उल्लङ्घन, जिविसको गाडीमा दलका नेता

Posted on: 08 Mar, 2017

फागुन २५, रामेछाप । जिल्ला विकास समिति रामेछापले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको छ । 

रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले निर्वाचन आचारसंहिता विपरित जिल्ला विकास समितिको गाडीमा नेपाली काँग्रेसका नेता बोकेर योजना अनुगमन गर्न जानु भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानिय निकायको निर्वाचनमा आचारसंहिता उलङ्घन गर्नेलाई कारवाहि गर्ने चेतावनी दिएपनि स्थानीय विकास अधिकारीबाटै आचारसंहिता उलङ्गन भएको हो । 

स्थानीय विकास अधिकारी पन्तले बा २ झ ५५६ नम्बरको जिल्ला विकास समितिको गाडीमा बुधबार रामेछापको चनखु गाविसमा रहेका योजना अनुगमन गर्न भन्दै नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ र क्षेत्र नम्बर २ का सभापति बिनोद कार्कीलाई लिएर जानु भएको हो । 

निर्वाचन आयोगले सरकार, सरकारी स्वामित्वमा रहेका संस्था, स्थानीय निकाय, राजनीतिक दल तथा सञ्चार माध्यम लगायतलाई १०४ बुँदे आचारसंहिता जारी गरेपनि रामेछापका स्थानीय विकास अधिकारीले त्यसलाई अटेर गर्नुभएको छ । 

यस विषयमा स्थानीय विकास अधिकारी पन्तले काँग्रेसका नेताहरु पनि चनखुकै भएकाले आफूसँगै आएको बताउनु भएको छ । रामेछापका प्रजिअ खत्रीले भने निर्वाचन अचारसँहिता लागु भएकाले सरकारी गाडीमा राजनीतिक दलका मानिस चढाउन नमिल्ने भन्दै यस बिषयमा थप अनुसन्धान गर्ने र दोषी पाईए कारबाहीका लागि सिफारिस गर्ने बताउनु भएको छ । -निरोजकुमार थापाको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!