राससकर्मी उपाध्याय लिबाङमा सम्मानित

Posted on: 09 Mar, 2017


फागुन २६, रोल्पा । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रोल्पाको लिबाङमा बुधबार आयोजित एक भव्य समारोहका बीच राससकर्मी कविता उपाध्याय सम्मानित हुनुभएको छ । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीले उहाँलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । 


उपाध्याय राससको रोल्पा समाचारदाता हुनुहुन्छ । उहाँले करिब छ वर्ष पहिलेदेखि जिल्लामा जुनकिरी सञ्चार साप्ताहिक पत्रिका दर्ता गरी प्रकाशक तथा सम्पादकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । विगत १० वर्षदेखि उहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । 

यसरी जिल्लामा तथा राष्ट्रिय स्तरसम्म पनि पत्रकारिताको क्षेत्रमा काम गर्ने सिलसिलामा लेख, रचना तथा विभिन्न किसिमका सूचना प्रकाशन गरी महिला तथा बालबालिकाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महिला तथा बालबालिका कार्यालय रोल्पाले उहाँलाई सम्मान गरेको हो । 


जिल्लामै एकजना पत्रकारलाई मात्र गरिएको सम्मानमा उपाध्याय छनोट हुनुभएको थियो । 

उपाध्यायलाई यसै वर्षमात्र जिल्ला शिक्षा कार्यालय रोल्पा तथा लिवाङ नगरपालिकाको कार्यालय रोल्पाले पनि पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको थियो भने उहाँ राष्ट्रिय समाचार समितिको ५६ औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष प्रकाशित आलेख समाचारमध्ये काठमाडौँ उपत्यका बाहिरबाट सर्वोत्कृष्ट आलेख विधामा पुरस्कृत हुनुभएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!