प्रदेश नम्बर ७ का कुन जिल्लामा कति दलले चुनावमा भाग लिन पाउने ?

Posted on: 11 Mar, 2017

ललित बोहरा/फागुन २८, डडेल्धुरा । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय चुनावमा भाग लिन पाउने राजनीतिक दलको नाम सार्वजनिक गरेको छ ।

 बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर आयोगले ७५ वटै जिल्लामा चुनावमा भाग लिन पाउने दलको नाम सार्वजनिक गरेको हो ।

स्थानीय चुनावमा प्रदेश नम्बर सातको कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी दलहरुले भाग लिन पाउने भएका छन् । कैलाली र कञ्चनपुरमा समान २५–२५ दलले भाग लिन पाउने भएको आयोगले जनाएको छ । सबैभन्दा कम भने बाजुरा र डोटीमा नौँ–नौँ वटा दलहरुले मात्रै भाग लिन पाउने भएका छन् ।

यस्तै डडेल्धुरा र बैतडीमा समान १३–१३, बझाङ र दार्चुलामा १२–१२ र अछाममा ११ वटा दलहरुले स्थानीय तहको निर्वाचनमा भागलिनेछन् । निर्वाचन आयोगले स्थानीय चुनावमा भाग लिन चाहने दललाई यही फागुन १६ देखि १८ गतेसम्म सूचना दिन आग्रह गरेको थियो ।

आयोगको आग्रहअनुसार दर्ता भएका एक सय १३ दल मध्ये ८१ वटा दलले मात्र आयोगमा सूचना दिए पनि अरु दलले पनि चुनावमा भाग लिन पाउने भएका हुन् ।

 यसअघि संविधानको धारा २६९ अनुसार माघ १७ गतेसम्म आयोगको केन्द्रिय कार्यालय र जिल्ला कार्यालयमा दर्ता भएको आधारमा पनि चुनावमा भाग लिन पाउने गरी आयोगले सूचना जारी गरेको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!