राष्ट्रिय दल बन्न प्रत्यक्षमा एक सिट, समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड

Posted on: 22 Mar, 2017

चैत ९, काठमाडौं । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट अनिवार्य जित्नुपर्ने र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था गरिएको छ ।  राष्ट्रिय दल बन्न चाहिने थ्रेसहोल्डको व्यवस्थासहितको विधेयक संसदको राज्य व्यवस्था समितिले पारित गरेको हो । 

बिहान बसेको उपसमिति बैठकले राष्ट्रिय दल हुनका लागि समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तिमा एक सिट जित्नुपर्ने प्रावधान राख्ने निर्णय गरेपछि त्यसलाई समितिले अनुमोदन गरेको हो ।  

ठूला तीन दलका सांसदहरुले गरेको निर्णयप्रति साना दलका सांसदले बिरोध गरेका छन् । यस्तै कुनै पनि दल फुटेर नयाँ राजनीतिक दल बन्नका लागि ४० प्रतिशत सांसद र केन्द्रिय कार्यसमितिका ४० प्रतिशत नेताको समर्थन लिनु पर्ने भएको छ । दल सम्बन्धी विधेयकमा पार्टीका ४० प्रतिशत सांसद र केन्द्रिय कार्यसमितिका ४० प्रतिशत नेताको समर्थन नजुटेमा फुटेको दलले राजनीतिक दलको मान्यता नपाउने व्यवस्था गरिएको एमाले नेता तथा राज्य व्यवस्था समितिका सदस्य गंगालाल तुलाधरले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!