प्रहरी र बाल क्लवको सक्रियतामा रोकियो हुनै लागेको बालविवाह

Posted on: 06 Apr, 2017

दलसिंह गिरी/चैत्र २४, कालिकोट । विवाह तथा बर्तबन्धको एक प्रमुख महिनाको रुपमा लिईने बैशाख महिनाको मुखार्धमा हुनै लागेको बालविवाह स्थानीय बालक्लव र प्रहरीको सक्रियतामा रोकिएको छ । 

जिल्ला सदरमुकाम देखि पूर्वतर्फ पर्ने तिलागुफा नगरपालीका वडा नं २ (साविकको राचुली ७) बस्ने वर्ष १६की बालिका अनिता विक (नाम परिवर्तन) र जुम्ला जिम्ला चन्दनाथ नगरपालिका कोटीलाघर भएका बर्ष १८ का हरिचन्द्र सुनार बिच हुन लागेको विवाह स्थानीय बालक्लव र प्रहरीको सक्रियतामा रोकिएको हो ।

श्री दुर्गा मावि राचुली कक्षा १० मा अध्ययनरत बालिका अनिता र जुम्लाका हरिचन्द्र यहि गएको चैत्र ११ गते राचुलीबाट भागेर जुम्लामा विवाह गर्न लागेको जानकारी पाएपछि राचुली बालसंजालका पदाधिकारीहरुले तत्काल जिल्ला प्रहरी कार्यालय कालिकोटलाई खबर गरी जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काको निर्देशनमा प्रहरी चौकी नाग्म र प्रहरी चौकी लाम्रा जुम्लाको सक्रियतामा बालबाविवाह हुन रोकिएको छ ।

केटापक्षको घरमा हुन लागेको विवाह रोक्न प्रहरी टोली कोटीलामै पुगी दुबै केटाकेटी सहित केटाका आफन्त र यताबाट केटीका आफन्तहरुलाई नाग्म प्रहरीचौकीमा ल्याई गाउ बाल संजालका पदाधिकारी नागरिक समाजको रोहबरमा दुबै केटाकेटीको २० वर्ष उमेर नपुगी बिवाह नगर्ने नगराउने लिखित प्रतिवद्धता गराई केटाकेटीलाई आफन्तको जिम्मा लगाईएको किर्डाक नेपाल कालिकोट द्धारा संचालित सहयात्रा परियोजनाका फिल्ड सुपरभाईजर प्रकाश शाहीले बताउनु भएको छ ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सेभ द चिल्ड्रेन, किर्डाक नेपाल द्धारा संचालित सहयात्रा परियोजनाको सहयोग र जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजना जिल्लाभरका सवै प्रहरी चौकीका इन्चार्ज तथा जवानहरुलाई बालअधिकार संरक्षण तथा बालविवाह न्यूनिकरण सम्बन्धि जागरण तालिम दिई जिल्ला स्तरमै निर्माण गरेको बार्षिक कार्यायोजना अनुसार प्रहरी टोली बालविवाह न्युनीकरणमा सक्रिय देखिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!