रामेछापमा गाउँपालिका र नगरपालीकामा एमालेबाट उम्मेदवारमा क-कसको सम्भावना ?

Posted on: 07 Apr, 2017

प्रज्वल पौडेल/चैत २५,रामेछाप । सरकारले स्थानीय तहको पुनर्सरचना गरी बैशाख ३१ गते निर्वाचनको मिति घोषणा गरेसँगै रामेछाप जिल्लाका नगरपालिका र गाउँपालिकामा चुनावी चर्चा सूरु भएको छ । 

जिल्लामा प्रमुख तीन दल नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको निर्वाचन अभियान तिव्र रुपमा अगाडि बढाएका छन् । गाउँमा वडा अध्यक्ष, देखि गाउँपालीकाको अध्यक्ष, उपाध्यक्षदेखी नगरपालीकाको मेयर र उपमेयर को बन्ने टीका टिप्पणी सूरु भएका छन् । नगरपालिका र गाउँपालिकाको प्रमुख बन्नका लागि विभिन्न रामेछाप राजनीतिक दलका नेता¸कार्यकर्ताको दौडधुप सूरु भइसकेको छ ।

उम्मेदवारको टिकट आफ्नो पक्षमा पार्नका लागी आन्तरिक लबिङको आरम्भ भएको छ। जिल्लामा २ नगरपालीका र ६ गाउँपालिकामा स्थानीय तहको निर्वाचन हुदैछ भने जिल्लामा १ लाख ३४ हजार ६ सय २० जनाको नाम मतदाता नामावलीमा रहेको छ ।

यसैवीच नेकपा एमालेबाट नगरपालीकाको मेयर र गाउँपालीकाको अध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने बहस सूरु भएको छ । जिल्लामा एमालेबाट उम्मेदवारमा धेरै आकाङ्क्षी देखिएता पनि वडा तथा नगर कमिटी हुदै छिट्टै माथिल्लो कमिटीले नाम टुङ्गो लगाउने एमाले स्रोतले साझासबाल मिडियालाई जानकारी दिएको छ । साझा सबाललाई एमाले जिल्ला कमिटीका नेताहरुले दिएको जानकारी र स्थानीय तहमा भएको चर्चा अनुसार सम्भावित उम्मेदवार यस्ता छन् ।

गाउँपालिका :

१.  उमाकुण्ड गाउँपालीका 

उमाकुण्ड गाउँपालीकामा एमालेको तर्फबाट अध्यक्षमा कसले पाउने भन्ने चर्चाको बढेको छ। यस एमालेको तर्फबाट धेरैले दाबी गरेपनि गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर कार्की, शेर बहादुर सुनुवारको नाम बढी चर्चामा आएको छ ।

यसैगरी एमालेबाट उपाध्यक्षमा गंगा कार्की लगभग पक्का जस्तै देखिएकि छिन् ।

करिब १७ हजार ६ सय जनसंख्या भएको उमाकुण्ड गाउँपालीकामा साविकका गुम्देल, बाम्ती, कुबुकास्थली, प्रिति, गुप्तेश्वर र भुजी गाविस रहेका छन् ।

२. खाँडादेवी गाउँपालिका

खाँडादेवी गाउँपालीकामा चुनावी सरगर्मीसँगै एमालेको तर्फबाट अध्यक्षमा कसले टिकट पाउने भन्ने चर्चाको बढेको छ । सो गाउँपालीकामा पार्टीका जिल्ला उपाध्यक्ष प्रेम बहादुर तामाङ, होम बहादुर बुढाथोकी, ज्ञान बहादुर श्रेष्ठ र केशब प्रधानको नाम चर्चामा रहेको छ ।

यसैगरी एमालेबाट उपाध्यक्षमा लक्ष्मी न्यौपाने,  मिना ढुङ्गेल, मखमली श्रेष्ठको नाम चर्चामा रहेको छ । 

२५ हजार ८ सय जनसंख्या रहेको सो गाउँपालिकामा साविकका राकाथुम, मझुवा,भिरपानी,पकरबास,माकादुम, गागलभदौरे पिङ्खुरी र खाँडादेवी गाविस रहेका छन् ।

३. गोकुलगंगा गाउँपालिका 

गोकुलगंगा गाउँपालीकामा चुनावी अभियान तिब्र रुपमा अगाडि बढिरहेको छ । एमालेको तर्फबाट सो गाउँपालीकामा अध्यक्षमा धेरैको दाबी रहेको छ । एमालेबाट खड्गबहादुर सुनुवार, अर्जुन कार्की, बुद्धि बहादुर कार्की र राजेन्द्रकुमार कार्कीको नाम चर्चामा रहेको छ । 

त्यसैगरी एमालेबाट उपाध्यक्षमा हेमकुमारी तामाङ, सुनिता सुनुवार,गीता कार्कीको नाम चर्चामा रहेको छ । करिब २० हजार जनसंख्या रहेको सो गाउँपालीकामा साविकका चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडी र फर्पू गाविस रहेका छन् । 

४. दोरम्बा गाउँपालिका

दोरम्बा गाउँपालिकामा पनि एमालेको तर्फबाट धेरैले अध्यक्षमा चासो देखाएका छन् । अहिले गाउँपालीकाको अध्यक्षमा तुलाप्रसाद कडेल,रत्न गौतम, प्रेम लामा, कुमार कडेल र एमाले उपसचिव समेत रहेका झम्क कडेँलको चर्चा रहेको छ ।

यसैगरी उपाध्यक्ष सुशिला कडेँल लगाएतको चर्चा रहेको छ ।

करिब २२ हजार ८ सय जनसंख्या रहेको सो गाउँपालिकामा साविकका डडुवा, दोरम्बा, टोकरपुर, गोश्वारा, लखनपुर गाविस र गुन्सी गाविसको वडा नं ८ र ९ रहेका छन् ।

५ .लिखु गाउँपालिका 

लिखु गाउँपालिकामा चुनावी अभियान तिब्ररुपमा अगाडि बढिरहेको छ । एमालेका तर्फबाट गाउँपालिकाको अध्यक्षमा कमल कडेरिया, पुरुषोत्तम कडेरिया, याम बहादुर तामाङ, भिमबहादुर तामाङ र गोविन्द खड्काको चर्चा रहेको छ । 

त्यसैगरी एमालेको तर्फबाट उपाध्यक्षमा दिपशिखा दाहालको उम्मेदवारी लगभग पक्का देखिएको छ । जिल्लाका हरेक गतिविधीमा महिला नेतृत्वको हैसियतमा सक्रिय रहेकाले पनि उहाँले पाउने सम्भावना बढेको छ । 

करिब २३ हजार जनसंख्या रहेको लिखु गाउँपालिकामा साविकका दुरागाउँ, सैपू, विजुलीकोट, नागदह, खिम्ति र तिल्पुङ गाविस रहेका छन् ।

६. सुनापति गाउँपालिका

स्थानीय निर्वाचन घोषणा भएदेखि नै चुनावी अभियान चलेको सुनापति गाउँपालिकामा धेरैले गाउँपालिकाको अध्यक्षमा धेरैको दाबी रहेको छ । एमालेको तर्फबाट अध्यक्षमा रामकृष्ण लामा,प्रदीप योञ्जन, रोज लामाको चर्चा रहेको छ ।

यसैगरी एमालेको तर्फबाट उपाध्यक्षमा पासाङ लामा, मैच्याङ तामाङ लगाएतको चर्चा रहेको छ ।

करिब १८ हजार जनसंख्या रहेको सुनापति गाउँपालिकामा दिमिपोखरी, बेथान, हिलेदेवी, खनियापानी गाविस र गुन्सी गाविसका वडा नं १ देखि ७ सम्म रहेको छन् ।

नगरपालीका:

१. मन्थली नगरपालीका

मन्थली नगरपालीकामा चुनावी चहलपहल बढेको छ । हाल जिल्लाको सदरमुकाम समेत रहेको यस नगरपालीकालाई जिल्ला कै निर्वाचन जसरी हेरिएको छ । नगरपालीकामा एमालेबाट मेयरमा धेरैले आकाङ्क्षा राखेपछि टिकट कसले पाउने हो भनेर जिल्लाका सबै नेता तथा कार्यकर्ता देखि सर्वसाधारणको ध्यानसमेत खिचेको छ । मेयरका लागी मन्थली नपामा एमालेको तर्फबाट एमाले रामेछाप पार्टी सचिव आनन्द श्रेष्ठ¸ रमेश बस्नेत, लब श्रेष्ठ, प्रकाशकुमार कार्की, ध्रुव कुमार कार्की, गोपाल श्रेष्ठ र उज्वल सूवेदी लगाएतको चर्चा रहेको छ ।

जिल्लामा मेयरका लागी युवानेता प्रकाशकुमार कार्कीको पनि चर्चा भएपनी हाललाई आफू पार्टीमा स्थापित हुने मनसाय बुझिएको छ । युवालाइ परिचालन गर्न,पार्टीको जिम्वारी पुरा गर्न र स्थानीय तहमा उमेद्वार दिदा सबैतिर समय कम हुने भएकाले उहाँले इच्छा देखाउनुभएको छैन ।

यसैबिच मन्थली नगरपालीकामा एमालेबाट उपमेयरमा माया कार्कीले टिकट पाउने सम्भावना लगभग पक्का देखिएको छ । करिब ४५ हजार ५ सय जनसंख्या रहेको मन्थली नगरपालीकामा साविकको मन्थली नपा, गेलु, चनखु, पुरानागाउँ र फूलासी गाविस रहेका छन् ।

 २. रामेछाप नगरपालीका 

जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालीकामा पनि चुनावी अभियान तिब्र रुपमा अगाडि बढेको छ । नगरपालीकामा एमालेबाट टिकट लिन धेरैले लबिङ सुरु गरिसकेका छन् । अहिले एमालेबाट मेयरका लागी रोशन पाख्रिन, ढालविक्रम कार्की, युवराज पाख्रीनको चर्चा रहेको छ ।

यसैवीच रामेछाप नगरपालीकामा एमालेबाट उपमेयरमा शान्ता सापकोटा(पौडेल) र सीता केसीको चर्चा रहेको छ । जिल्लाका हरेक गतिविधी तथा महिलाको क्षेत्रमा लामो समयदेखि सक्रिय भएकाले पौडेलले पाउने सम्भावना बढि रहेको छ ।

करिब २८ हजार ६ सय जनसंख्या रहेको रामेछाप नगरपालिकामा साविकको रामेछाप नपा गोठगाउँ देउराली साँघुटार हिमगंगा र रामपुर गाविस रहेका छन् ।

यता नेकपा एमाले रामेछाप जिल्ला कमिटीका अध्यक्ष शान्ती प्रसाद पौडेलले स्थानीय तहमा सबैसँग घुलमिल हुन सक्ने, जिम्वेवारी बहन गर्न सक्ने नेतृत्वको नाम सुझाव दिन गाउँपालिका तथा नगरपालिकाकाका कमिटीहरुलाइ निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो –“ वडा तहले चैत ३० गतेभित्र र गाउँपालिका तथा नगरपालीकाले बैशाख ४ गतेभित्र विजयी सुनिश्चित हुने,एमालेमा निरन्तर क्रियाशिल, स्वच्छ छवि भएका व्यक्तिका नामावलीहरु जिल्ला कमिटीमा पठाउन अनुरोध गरिएको छ ।“ पालिकाको प्रमुख तथा उपप्रमुखको नाम जिल्ला कमिटीबाट बैशाख ७ गतेसम्म प्रदेश कमिटिमा सिफारिसका लागि पठाइने बताइएको छ ।

  यसैबिच नेकपा एमाले रामेछाप प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीलाइ सोध्दा उहाँले व्यक्तिहरुको बारेमा बोल्न चाहनु भएन । तर उहाँले यस स्थानीय तहको निर्वाचनमा ५० प्रतिसत युवाको नाम उम्मेदवारीमा आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “जिल्लामा एमालेका धेरै क्रियाशिल नेताहरु हुनुहुन्छ, नेतृत्वको आकाङक्षी राख्नु, चर्चा हुनु स्वभाविक हो, तर पार्टीको नीति नियम भित्र रहेर कसलाइ उम्मेदवार बनाउदा पार्टीको जित सुनिश्चित हुन्छ सोहि अनुसार पार्टीले निर्णय गरेर टुङ्गो लगाउँछ ।“ जिल्लाको समग्र विकास निर्माणमा युवाको भुमिका महत्वपूर्ण भएकाले युवाले स्थान पाउनुपर्ने उहाँको जिकिर छ ।

 जिल्लामा प्रमुख तथा उपप्रमुखमध्ये एक महिलालाइ अनिवार्य उमेद्वार बनाउनुपर्ने नियम भएकाले महिला नेतृत्वमा आउन सहज भएको छ । रामेछापमा एमालेको तर्फबाट लगभग सबै नगरपालिका तथा गाउँपालिकामा महिला उपप्रमुखमा उम्मेद्वारी हुने देखिएको छ । उम्मेद्वारको आ-आफ्नो दाबी र चर्चा बढेपनि एमालेले आधिकारिक उम्मेदवार कसलाइ बनाउने हो हेर्न बाँकि छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!