शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान जारी (फोटोफिचर)

Posted on: 14 May, 2017


बैशाख ३१, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको जनाएको छ । 

आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ । 

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी), निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत, आयोगबाट खटिएका अनुगमनकर्ताले आयोगलाई दिएको जानकारीअनुसार मतदान कार्य उत्साहजनक रुपमा सुरु भएको छ । 


ज्येष्ठ नागरिक, महिला, अशक्तहरुसमेत बिहानैबाट मतदान कार्यमा उत्साहपूर्वक सहभागी भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ को लंकुस्थित लक्ष्मी माविमा बिहान ७ बजे मतदान गरेका छन् । 


गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं १० चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रबाट १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेका छन् । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि निर्वाचन हुन लागेको सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज बिहान जारी विज्ञप्तिमा जनाइएको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!