दार्चुलाको सबैभन्दा ठुलो सूर्मा भवानीको सुर्मासरोवर जात्रा शुरु

Posted on: 03 Aug, 2017


लोकेन्द्र प्रशाद जोशी/नरेन्द्र कार्की/साउन १९, दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइने सुर्मा भवानीको जात्रा शुरु भएको छ । 

स्थानीय भाषामा क्षत्ति जात्रा भनेर चिनिने जात्रा बुधबार रतेडीबाट ७ दिनसम्म मनाइन्छ । औँसीदेखि १७ दिन र रतेडिदेखि सातदिन सम्म मनाइने जात्रा जिल्लाको सबै भन्दा ठूलो जात्रा हो ।

यो जात्रा हालको अपि हिमाल गाउँपालिका वडा नम्बर ३ घाजिर क्षत्ति हुँदै बझाङ जिल्लाको सुर्मासरोवर सम्म गएर मनाइने गरिएको छ । सुर्मासरोवर बझाङ जिल्ला र दार्चुला जिल्लाको सिमानामा पर्दछ ।

हिमश्रृंखलाहरूको विचमा अवस्थित यो सरोवर धार्मिक, पर्यटकीय तथा सांस्कृतिक दृष्टिमा अत्यन्त महत्वपूर्ण छ । सुर्मा जात्राको सुरुवात कहिलेदेखि सुरु भयो भन्ने एकिन प्रमाण नभएपनि सुर्माभवानीको चैतमा उल्लेख भए अनुसार एघारौ सताब्दी अघिबाट यो जात्रा मनाउन थालिएको देखिन्छ ।

जात्रामा अपि हिमाल गाउँपालिकाको खण्डेश्वरीबाट जाने तीर्थालुहरूले यस सुर्मा सरोवरमा पहिले पूजा आजा गरेर फर्किएपछि बझाङ तिरबाट आउने सिकारीको भेषधारी तीर्थालुहरूले पूजा गर्नेु पने किम्बदन्ती छ । सुर्मासरोवर ६५२३ मीटर उचाईमा रहेको छ ।


क्षेत्तीगर्खा पुख्र्यौली हुने समुदाय र घाजिर गर्खा पुख्र्यौली हुने समुदायहरूको तीर्थालुहरूले आँैसी देखिनै एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्नु पर्दछ । यो ब्रत अन्य समुदायको जो सुर्मासरोवर तीर्थ जान चाहन्छन्, तिनीहरूले पनि वस्न सक्छन् । ती ब्रत बसेका सुर्माभवानीको भक्तहरूलाई वीरे भनिन्छ ।

सुर्मा सरोवर जाने बिरेहरू पनि दुई प्रकारका हुन्छन् । पहिलो चोटी ब्रत बसेर तीर्थ जाने भक्तजनहरूलाई वालोवीरे एकपटक गइसकेकाहरूलाई बुढोवीरे भन्ने गरिन्छ । साथै यस जात्रामा सहभागी यात्रुहरूलाई ४ भागमा विभाजन गर्न सकिन्छ । यस जात्रामा सहभागि हुने भक्तजनहरुलाई उवादेशी, उनादेशी, जत्तोर र वाइदेशी वा तिर्थालु भनेर भन्ने गरिएको छ  ।

जात्रामा सहभागी क्षेत्तीगर्खा पुख्र्यौली घर भएका, ठेकरे, बोहरा धामी, वैरे समुदायका भक्तहरूलाई उवादेशी, घाजीरगर्खाका यात्रुहरूलाई उनादेशी, रोकाया, कार्की तथा खण्डेश्वरी भित्रका यात्रुहरूलाई वाईदेशी भनिन्छ ।

जात्रा अवधिभर लसुन, प्याज, मसुर तथा मासु, रक्सी, जस्ता भोजन खान भने पाइदैन । सम्पूर्ण यात्रुहरूको खाने बस्ने व्यवस्था क्षेत्ती र घाजिरका स्थानीय वासिन्दाहरूले गर्ने गरेका छन् । यहाँ क्षेत्ती र घाजिर भन्ने गाउँ सुर्माभवानीको जात्राको प्रमुख तीर्थस्थल हो । हरेक वर्ष जात्रा लागेपनि सानो जात्रा र ठूलो जात्राको रुपमा मनाइने गरिएको छ ।


पर्यटकीय धार्मिक एवं सांस्कृतिक रुपका विविधताहरु जात्रामा देख्न सकिन्छ । जात्रा अवधिभर क्षेत्तिले संस्कृतिको पहिरन, नृत्य, देउडा, बाजागाजा यो जात्रामा देख्न पाइन्छ ।

 यस्तै धार्मिक रुपमा मार्कण्डेय गुफा, धर्मिगुफा, सुर्मा मन्दिर, ताल घोप्टे, नाग ढुंगा, हिउँ नजम्ने ढुंगा, जस्ता हेर्न लायकका ठाउहरु रहेको क्षेत्ति क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष डम्मरसिह बोहराले बताउनुभयो ।

जात्राको पहिलो दिन उवादेशी यात्रीहरू क्षेत्तीमा जम्मा हुन्छन् भने उनादेशी, जत्तोर र बाइदेशीहरू घाजिरमा पुग्ने गर्छन । राती सुर्माभवानीको मन्दिरमा जम्मा भएर सबै देवीदेवताहरूको पूजाआजा गरि धामीहरू काम्ने र रमाइलो गर्ने स्थानीय भाषामा देउधमेउलो गर्ने गरिन्छ । देउधमेउलो सकिएपछि देवी सुर्माभवानीको चैत गाउने चलन छ । त्यसपछि भाडिखेल लगाउने गरिन्छ ।

साथै विभिन्न भाडिखेल ढुस्को, जगरम गाउने खेल्ने गरिन्छ र विहान भोल्लाउलो गाउने गरिन्छ र वेन्नेली (बिहान) को देउधमेउलो गरि पहिलो दिनको जात्रा मनाइन्छ ।


 वालोवीरे र बुढोवीरे सबैले सुर्मासरोवर जाँदा वीरेलौरो बोक्नुपर्दछ । यो लौरो बुढोवीरे र वालोवीरेको भिन्न भिन्न हुन्छ । उवादेशी तथा उनादेशीले ६ फिट लामो निङ्गालाको लौरा बोक्नु पर्छ र वाइदेशी ४.५ फिटको लौरो बोक्नु पर्दछ । जात्रालाई व्यवस्थित ढङ्गले संचालन गर्न एक जना मुला अथवा जात्राको मूली हुन्छ । 

त्यसको लौरो ७.५ फिटको हुन्छ । यो लौरालाई लाकुरी लौरो अथवा वीरेलौरो भनिन्छ । यसवर्ष जात्राको लाखौ सयौ भक्तजनहरुको भीड लागेको छ ।

स्थानीय जात्रा भएको कारण अपि हिमाल गाउँपालिका वडा नम्बर २ र ३ का विद्यालयहरु समेत बन्द भएका छन् । एकसाता सम्म विद्यार्थी शिक्षक अभिभावक जात्रामा रमाउने भएका कारण विद्यालय बन्द गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!