नवलपरासीमा नहरमा डुबेर एक बालिकासहित दुई बेपत्ता, सदरमुकासहित केहीगाउँ डुबानमा (फोटोफिचर)

Posted on: 04 Aug, 2017


साउन २०, नवलपरासी । नहरमा डुबेर आज नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन् । जिल्लाको प्रसौनीस्थित नेपाली नहरमा डुबेर दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय ११ वर्षीया बालिका कृष्ण गुप्ता नहरमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् । 

नहरमा पानी धेरै भएका कारण दुवैजना बेपत्ता भएको प्रहरीको अनुमान छ । 

पहिला बालिका नहरमा डुबेको देखेपछि बालिकालाई उद्धार गर्न वृजलाल पुगेपछि दुवैजना बेपत्ता भएका हुन् । प्रहरी र स्थानीयवासीको सक्रियतामा दुवैजनाको खोजी कार्य जारी छ । 

सदरमुकाम परासीसहित केहीगाउँ डुबानमा 

लगातारको वर्षाका कारण नवलपरासी जिल्लाको सदरमुकाम परासीसहित जिल्लाको ग्रामीण क्षेत्रमा केही गाउँ डुबानमा परेका छन् । 


वर्षाका कारण परासीको रामखण्ड पुलसंगैको गाउँ र हाटबजार क्षेत्र डुबानमा छ । यसैगरी रावणखण्ड खोलाका कारण परासीमा रहेको नेपाली सेनाको ब्यारेकसहित आसपासका क्षेत्र पनि डुबानमा परेका छन् । 

लगातारको वर्षाले विभिन्न नदीमा बाढीको बहाव बढ्दै जाँदा ग्रामीण क्षेत्र आसपासका बस्ती जोखिममा परेका छन् । पाल्ही नन्दन र सरावल गाउँपालिकामा पनि बाढीको प्रबाह बढेको छ । 

पाल्ही नन्दन १ शंकरपुर, २ सुगौली, (हरपुर पुलमा आवागमन बन्द) सरावल गाउँपालिका वडा नं ३ कोठिलहाँ, ५ र ६ का खडौना, मधवलिया, नौडिहँवा, वडा नं ७ गणेशपुरलगायत गाउँका केही घरमा बाढी बढेको हो । 


अविरल वर्षाका कारण नारायणी नदीलगायत अन्य खोलाको सतह बढेकाले बाढीको खतरा देखिएको छ । बाढीको प्रभाव ग्रामीण क्षेत्रका केही गाउँमा देखिएपछि स्थानीयवासी नजिकैको विद्यालय÷सङ्घ संस्था र अग्ला घरमा गएर बस्न बाध्य छन् । 

तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्क रहन स्थानीय प्रशासनद्वारा आग्रह गरिएको छ । गुठिसूर्यपुरामा बाढीले पाँचवटा कच्ची घर बगाएको छ । जिल्लाको ग्रामीण क्षेत्रका केही गाउ‘ डुबानमा परेपछि त्यहाँका विद्यालयमा शरण लिन बाध्य छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!