अविरल वर्षापछि आएको बाढीका कारण चितवनमा दुई सय घर डुबानमा

Posted on: 12 Aug, 2017


साउन २८, चितवन । दुई दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको माडी नगरपालिकास्थित रिउ खोलामा आएको बाढीले स्थानीय २०० घर डुबानमा परेका छन् । 

बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताललगायत सरकारी कार्यालयसमेत डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मध्यरातमा रिउ खोलाको बहाव ५ दशमलव १० बिन्दुमा पुगेपछि स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान भनिएको बताउनुभयो । राति डुबानमा परेका घरबाट स्थानीयवासी अग्ला ठाउँमा गएर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । 

माडी नगरपालिका वडा नं १, २, ४ र ६ का पूरै तथा वडा नं ३ र ४ का केही भाग डुबानमा परेका छन् । बाढीले कुन्तीपुरमा दुई कच्ची घर ढलाएको तथा घरका खाद्यान्न, लत्ताकपडालगायत सामग्रीमा क्षति पु¥याएको छ । ठूलो मात्रामा धान खेत डुबाएको स्थानीयवासीले बताएका छन् । 

माडी–ठोरी हुलाकी सडक अवरुद्ध 

वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार माडी–ठोरी हुलाकी सडकको चितई खोलाको पुल बाढीले ढल्काएपछि सो सडक अवरुद्ध भएको छ । त्यसैगरी बरुवा बजारबाट लक्ष्मुनिया क्षेत्र जाने डाङ्ग्रे खोलाको पुल पनि बाढीले क्षति पु¥याएपछि सो सडक पनि अवरुद्ध बनेको उहाँले बताउनुभयो । 

ती ठाउँमा मानवीय र पशु चौपायाको कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विस्तृत विवरण संकलन भइरहेको छ । डुबानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, स्थानीयवासीसहित निकुञ्जका सात हात्ती उद्धारमा परिचालन गरिएको छ । 

जिल्लाबाट प्रजिअ नारायणप्रसाद भट्ट, सुरक्षा निकायका प्रमुखसहितको टोली बिहान डुबानस्थलतर्फ प्रस्थान गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!