मेलम्ची नगरद्वारा संचालित नगरबस दुई महिनामा नै बन्द, स्थानीयलाई कठिनाई

Posted on: 03 Sep, 2017


आदित्य दाहाल/भदौ १८, मेलम्ची । मेलम्ची नगरपालिकाले सञ्चालन गरेको नगरबस दुई महिनामा नै बन्द भएको छ । 

नगरपालिका प्रमुखसहितको टोलीले नगरको चार केन्द्रमा चारवटानगरबस चलाउन असार ७ गते नगरबस शुरु गरेको भए पनि अहिले नगरबस सञ्चालन हुन सकेको छैन । 

सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्रमा रहेको एकमात्र मेलम्ची नगरपालिकामा नगरबस नचलेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।  मेलम्ची बसपार्कबाट शिखरपुर, तिपेनी, भोटेचौर, सिपाघाट र तालामाराङसम्म सञ्चालनमा ल्याइएको नगरबस अहिले नगर र गाउँमा पुग्न छोडेको छ । 

मेलम्चीबाट शिखरपुर हुँदै नवलपुरसम्म पुग्ने अहिले कुनै पनि नगरबस सञ्चालन नआउनुका साथै नियमित चल्ने रुटको बससमेत सञ्चालन हुन नसक्दा हजारौँ सर्वसाधारण पैदल हिँड्न बाध्य छन् । 

नगरपालिका वडा नं १० शिखरपुरका वडाध्यक्ष भक्तबहादुर खड्काले सडक बिग्रीएका कारण बस सञ्चालन रोकिएको बताउँदै सडक स्तरोन्नतिका लागि वडाबाट रु चार लाख ५० हजार छुट्याएको भए पनि वडाले सिधै सडक निर्माणका लागि खर्च गर्न नपाएकाले सडकको निर्माण हुन नसकेको बताउनुभयो । 

नगरपालिकाबाट सडक निर्माणका लागि केही समय अगाडि प्राविधिक पठाए पनि सडक निर्माण गर्न नगरपालिकाले पर्याप्त चासो नदिँदा यातायात सञ्चालन हुन नसकेको स्थानीयवासी बालकृष्ण दाहाल बताउनुहुन्छ । 

नगरपालिकाभित्रका स्थानीयवासीलाई सुविधा दिने हेतुले नगरबस सञ्चालन गरिएको भए पनि बर्खाको समयमा नगरपालिकाभित्रका अधिकांश सडक जीर्ण जताततै पहिरो र हिलोका कारण नगरबस सञ्चालनमा आउन नसकेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो । 

नगरपालिकामा प्राविधिकको कमीका कारण सडकको सर्भे गर्नका लागि समस्या भएका कारणले पनि जीर्ण सडकको निर्माण गर्न नसकेको अर्यालको भनाइ छ ।  मेलम्चीका स्थानीय बासिन्दा भन्छन्, प्रत्येक १० देखि १५ मिनेटको फरकमा नियमित रुटको बस चल्ने ठाउँमा नगरबस चलाउनुभन्दा सडकको स्तरोन्नति गरी बर्खामा पनि नगरको प्रत्येक गाउँमा नगरबस सञ्चालन गर्न नगरपालिकाले ध्यान दिनुपर्छ । 

मेलम्ची शिखरपुर सडक उपभोक्ता समितिका अध्यक्ष इन्द्रप्रसाद दाहालले वडाले सिधै रकम खर्च गरी सडक निर्माण गर्न नसक्ने र नगरपालिकाले ध्यान नदिएकाले पनि सडक निर्माणसहित यातायात सञ्चालन हुन नसकेको बताउनुहुन्छ । 

स्नातक तह प्रथम वर्षमा अध्ययनरत नगरपालिका–९ का लक्ष्मण विष्टले स्नातक प्रथम वर्षको परीक्षा दिएर चार घण्टाको बाटो हिँडेर घर पुग्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुहुन्छ । 

बर्खाको समयमा भत्केका नगरभित्रका अधिकांश सडक छिटोभन्दा छिटो निर्माण गरी नगरबस सञ्चालन गर्नुपर्ने शिखरपुरका स्थानीयवासी प्रवीण कार्की बताउनुहुन्छ । 

सधैँजसो बर्खाको समयमा तिपेनी र शिखरपुरका स्थानीयवासीले पैदल हिँड्नुपर्ने अवस्था छ । सधैँ बर्खाको समयमा अवरुद्ध हुने सडकको हैरानी व्यहोरेका सर्वसाधारण दीर्घकालीन समयसम्म टिकाउ हुनेगरी पर्याप्त बजेटका साथ सडक निर्माण गर्न नगरपालिका लाग्नुपर्ने बताउँछन् । 

सडक अवरुद्ध र नगरबससमेत सञ्चालन नहँुदा शिखरपुरका स्थानीयवासीले उत्पादन गरेका तरकारीसमेत बोकेरै बजारसम्म लैजानुपर्ने अवस्था आएको कृषक लेखनाथ खतिवडाले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!