पक्राउ पुर्जी जारी गर्दा सांसद नवराज सिलवाल मलेसिया किन पुगे ?

Posted on: 03 Jan, 2018

पुस १९, काठमाडौँ । नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ । 

प्रहरीका अनुसार आइजिपी बढुवाका क्रममा आवश्यक कार्यसम्पादन मूल्यांकन (कासमू) नम्बर किर्ते गरेको पाइएपछि उनलाई पक्राउ गर्न पुर्जी काटिएको हो ।

कुनै पनि वेला पक्राउ पर्न सक्छन्

प्रहरीका अनुसार सिलवाल जुनसुकै वेला पक्राउ पर्न सक्छन् । आइजिपी बढुवाका क्रममा कासमू किर्ते भएको ठहर गर्दै सर्वोच्च अदालतले आवश्यक अनुसन्धान गर्न सरकारका नाममा आदेश दिएपछि प्रहरी परिसर काठमाडौंमा ५ पुसमा जाहेरी दर्ता भएको थियो । जाहेरीलगत्तै प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको थियो ।

जाहेरी दर्ताको १३ दिनपछि प्रहरीले सिलवालविरुद्ध पक्राउ पुर्जी काटेको हो । ‘प्रहरीले अनुसन्धान थालेको छ । यसक्रममा जोसुकैमाथि पनि अनुसन्धान हुन सक्छ । प्रहरीले बयान लिन सक्छ । आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् ।

सिलवाल क्वालालम्पुरमा

पूर्वडिआइजी एवं सांसद नवराज सिलवाल पूर्वनिर्धारित कार्यक्रममा भाग लिन आइतबार नै मलेसियाको क्वालालम्पुर गएको पारिवारिक स्रोतको भनाइ छ । उनी ‘एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीले गरेको इस्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेन्ट विथ स्पेसल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन क्वालालम्पुर गएका हुन् ।

के हुन्छ सांसद पद ?

कानुनविद्का अनुसार सिलवालको सांसद पद प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै आधारमा जाँदैन । यसका लागि अदालतमा मुद्दा दर्ता हुनुपर्छ । अधिवक्ता डा. भीमार्जुन आचार्यले सिलवाल पक्राउ भएलगत्तै सांसद पद नजाने बताए । ‘प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गर्न सक्छ । यही आधारमा सिलवालको सांसद पद जाँदैन । 

अदालतमा मुद्दा दर्ता भयो भने उनको सांसद पद निलम्बनमा पर्छ,’ उनले भने । अदालतबाट दोषी ठहर नभएमा उनको सांसद पद पुनः फिर्ता हुने आचार्यको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!