नेपालको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित, जोडियो यस्तो अत्याधुनिक यन्त्र

Posted on: 10 Feb, 2018

माघ २७, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ । 

अनाधिकृतरुपमा नेपाल प्रवेश गर्न खोज्ने विदेशी जहाज तथा अन्य उडान सुरक्षामा समेत उक्त राडार प्रभावकारी देखिएको प्राधिकरणले जनाएको छ । यही माघ १८ गतेदेखि उक्त राडार सञ्चालनमा ल्याइएको हो । 

एयर ट्राफिक कन्ट्रोलर सीताराम भण्डारीका अनुसार दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ । उहाँले भन्नुभयो, “एयर स्ट्रेस क्यापासिटी बढेको छ । 


एयर ट्राफिक म्यानेजमेन्टमा समेत थप सहजता आएको छ । विगतमा भन्दा सेवा पनि स्तरीय र प्रभावकारी देखिएको छ ।” सबैभन्दा महत्वपूर्ण उपलब्धिका रुपमा निगरानी क्षमतामा समेत बढोत्तरी भएकाले नेपालको आकाश थप सुरिक्षत भएको प्राधिकरणको भनाइ छ । 

विगतमा रेडियो तरंगमार्फत सम्पर्क स्थापित गरिन्थ्यो भने हाल श्रव्य तथा दृश्य नै उपलब्ध हुने भएकाले जहाजको उडान अवस्थाका बारेमा सहजै जानकारी लिन सकिन्छ । 

हवाई सेवा सुरक्षित र भरपर्दो भएको जानकारी दिनुहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले प्रविधिको प्रयोग थप उचाइमा पुगेको बताउनुभयो । 

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरिएको उच्च क्षमताका ‘टु जी राडार’ सञ्चालनमा ल्याइएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ६० एरोनटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा आजदेखि १२० एरोनटिकल माइलमा स्तरोन्नति भएको छ । नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्यासमेत क्रमशः अन्त्य हुँदै गएको छ । 

भट्टेडाँडाको आठ हजार २०० फिट अर्थात् दुई हजार ३०० मिटर उचाइमा जडान गरिएको राडार र अन्तर्राष्ट्रि«य विमानस्थलमा जडित नयाँ प्रणालीको नियमित अनुगमन तथा परीक्षणसमेत भइरहेको छ । विगतमा रेडियो तरंगमार्फत वायुयानको जानकारी लिन सकिन्थ्यो भने हाल सञ्चालनमा रहेको राडारबाट श्रव्य दृश्यसहितको जानकारी लिने गरिएको छ । उक्त राडारको लागत रु एक अर्ब छ । 

राडारको गतिविधिबारे सात दिनसम्म नियमित अनुगमन गरी त्यसबाट प्राप्त भएको तथ्यांकलाई विश्लेषण गरिएको छ । “राडारको कामको सूक्ष्म अनुगमन नियमितरुपमा भइरहेको छ । यसको प्रभावकारिताका बारेमा विश्लेषण पनि भइरहेको छ । हवाई उडानमा केही सहजता थपिएको छ,” प्रवक्ता ठाकुरले भन्नुभयो । 

नयाँ राडारबाट काठमाडाँैदेखि ४५० किलोमिटरको दूरीमा रहेको जहाजको अवस्थाबारे जानकारी लिन सकिएको छ । विभिन्न उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा जानकारी लिन वा दिन सकिने भएपछि सहजता उत्पन्न भएको हो । भट्टेडाँडामा जडान गरिएको ‘इन रुट राडार’ र विमानस्थलमा जडित ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणको भनाइ छ । 

नयाँ राडार सञ्चालनमा आएपछि देशका धेरै भू–भाग समेटिएको र उडान थप सुरक्षित हुने प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले हवाई सुरक्षाको क्षमता अभिवृद्धि भएको र ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिएको बताउनुभयो । “नेपालको हवाई आकाश सुरक्षित बनाउन यो प्रविधिले ठूलो भूमिका खेल्नेछ,” उहाँले भन्नुभयो । 

नेपालको पूर्वका सबै भू–भाग र पश्चिममा सुर्खेतसम्मको विमानको गति, उचाइलगायतका विषयमा जानकारी पाइएकाले पनि थप सुरक्षित र व्यवस्थित महसुस भएको प्राधिकरणको भनाइ छ । 

पुरानो राडारले करिब ११० किमी (६० एरोनटिकल माइल) परसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४५० किमी (२५० एरोनटिकल माइल)सम्मको जहाजको सम्पूर्ण जानकारी पाउन थालिएको छ । 

निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि हाल जडित राडारलाई विस्तार गर्ने योजना अगाडि सारिएको छ । उक्त विमानस्थलमै नयाँ राडार जडान गरेर देशको सबै उडान क्षेत्र समेट्ने तयारी पनि सँगसँगै भइरहेको छ । आगामी डेढ वर्षभित्र उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!