रेडियो रामेछाप ९५.८ मेगाहर्ज आजबाट छैठौँ बर्षमा प्रवेश

Posted on: 23 Feb, 2018

प्रज्वल पौडेल । फागुन ११, रामेछाप |

रेडियो रामेछाप सामुदायिक एफ.एम. ९५.८ मेगाहर्जले आफ्नो प्रशारण सुरु गरेको आजबाट ५ बर्ष पूरा भएको छ । शान्ति, समानता र सदाचारका लागि सामुदायिक सञ्चारनारा रहेको रेडियो रामेछाप सामुदायिक एफ.एम. ९५.८ मेगाहर्ज रामेछाप जिल्लासहित छिमेकी जिल्लाका व्यावसायिक सञ्चारकर्मी, सञ्चार र शिक्षाप्रेमी, शिक्षक, सञ्चार उद्यमी , व्यवसायी तथा अन्य सामाजिक क्षेत्रमा क्रियाशील एकसय भन्दा बढी व्यक्तिहरुको सामूहिक शेयर लगानी र सहकारी मान्यता अनुरुप ६ बर्ष अगाडि २०६९ साल फाल्गुण ११ गते बुधबारवाट सञ्चालनमा आएको हो । पूर्णतः समुदाय केन्द्रित रेडियोको भालुखोप डाँडामा टावर र सदरमुकाम मन्थलीमा स्टुडियो रहेको छ । रेडियो रामेछापले राष्ट्रिय भाषासहित अन्य स्थानीय भाषामा पनि आफ्ना कार्यक्रम प्रशारण गरिरहेको छ ।

 

सामूदायिक रेडियोको भूमिकालाई अधिकतम प्रयोग गर्दै सकारात्मक सामाजिक परिवर्तन गर्ने र समुन्नत समाज र राष्ट्र निर्माणमा सघाउने ऊर्जाका साथ रेडियोमा दक्ष र क्रियाशील सञ्चारकर्मी कार्यरत रहेका छन् । यस रेडियोले कृषि, शिक्षा, स्वास्थ्य, व्यावसायिक, मनोरञ्जनात्मक, सूचनावर्दक, संवाद लगायतका कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको छ ।

 

रेडियोले केन्द्रको खबर गाउँसम्म पुर्याउन सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक सूचना नेटवर्क सिआई एन बाट साझा खबर , विविसि नेपालि सेवा र गाउँदेखि केन्द्र सम्मको खबर सम्प्रेशण गर्न रामेछाप डायरी लाई नियमित खबरको माध्यम बनाएको छ । रेडियोमा ९५.८ मेगाहर्जमा सुन्न सकिने यस रेडियोले आगामि दिनमा थप समुदायमा लक्षित कार्यक्रमहरु प्रशारणमा ल्याउने तयारी गरीरहेको छ । ग्रामीण समुदाय लक्षित कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएको रेडियो रामेछापको २४ घण्टै प्रशारणको अनुमति भएपनि अहिले बिहान ४:४५ बजेदेखि राती १०:३० बजेसम्म प्रशारण भइरहेको छ ।

 

खोजमूलक पत्रकारिता, साम्यक मनोरञ्जन, सूचनाको ग्रामीण पहुँच विस्तार, जनमुखी कार्यक्रम र सुधारात्मक विषय विश्लेषण रेडियो रामेछापको मुख्य कर्म र लक्ष्य रहेको छ । रेडियोले व्यवसायी, उद्योगी, किसान, मजदुर, सरकारी, गैरसरकारी कार्यालय, राजनीतिक दल, नागरिकसमाज र समस्त प्रवुद्ध वर्गसँग नजिकको सम्बन्ध कायम गर्दै कृषि, वन, वातावरण, पर्यावरण, व्यापार, उद्योग, पर्यटनको विकासमा मद्धत गर्ने कार्यक्रमलाई जोड दिइरहेको छ । साथै रेडियो रामेछापले पत्रकार र पत्रकारिताको हक, हित र पेशाको रक्षाका खातिर पत्रकारिता सीप विकास र रोजगारीको पनि सिर्जना गरिरहेको छ ।

 


यसैविच रेडियो रामेछाप छैठौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा हाम्रा सम्पूर्ण सेयर सदस्य, कार्य समितीका पदाधिकारी, कर्मचारी, विज्ञापन दाता , श्रोता, रेडियो तथा पत्रपत्रिका, संचारकर्मी , सरकारी तथा गैह्र सरकारी संघ संस्था, राजनैतिक दल, शुभेच्छुक लगायत सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुले दिनुभएको सहयोग सद्भावप्रति हार्दीक धन्यवाद व्यक्त गरेको छ साथै यहाँहरुको निरन्तर सहयोगको अपेक्षाको साथै संचार क्षेत्रमा आबद्ध व्यक्तिमा सुःख, सम्मृद्धि,एबंम उत्तरोत्तर प्रगतीको कामना गदै देशमा शान्ति समानता र सदाचारको स्थायित्व कायम रहिरहोस् भनि रेडियोले शुभकामना ब्यक्त गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!