बझाङ: लाखौं लगानीमा वनेको अस्पताल कवाडीमा परिणत

Posted on: 19 Apr, 2018

टेकेन्द बोहरा | वैशाख ६, बझाङ | बझाङको छविस पाथिभेरा गाउँपालिकामा  विदेशी दाताको सहयोगमा स्थापना भएको जिल्ला कै दोस्रो सुविधा सम्पन्न अस्पतालमा कर्मचारी अभावमा ३ वर्ष देखी बन्द भएको छ । अस्पताल बन्द भए पछि झण्डै एक करोड भन्दा बढी मुल्यका संरचना र उपकरणहरु समेत तोडफोड भएर काम नलाग्ने अवस्थामा पुगेक छन ।

साबिकको मटेला गाविसको जिउली गाउँ स्थित डोब्रा सामुदायिक अस्पताल बेवारिसे भए पछि भवनका झ्याल ढोकाहरु तोडफोड भएका छन । भित्र रहेका उपकरणहरुमा पनि क्षति पुगेको छ ।  अस्पतालमा रहेका उपकरणहरु लाखौं मुल्य पर्ने एक्सरे मेसिन, जेनेरेटर, बेड, टेबुल, कुर्षि, उपचारका औजारहरु खिया लाग्ने अवस्थामा छन ।  

बचे खुचेको औसधी पनि सडेको छ । कोठा भित्रका फर्निचर र उपकरणहरु धुलाम्मे छन । झट्ट हेर्दा अस्पताल कवाडी भण्डार जस्तो देखिन्छ । भाडेवगर जयपृथ्वी नगर सडक खन्दा डोजरले अस्पतालको आगनको डिल ताछे पछि अस्पतालका ४ वटा मध्य एउटा भवन चर्किएर भत्किनै लागेको छ भने दुइवटा अरु भवन पनि जोखिममा छन । 

माथिको तश्विरमा: डोब्रा अस्पतालको भवनको सडकले क्षती ग्रस्त वनाएको भाग र जोखिममा रहेका भवनहरु । 

‘केटाकेटी र गोठालाहरुको खेल्ने ठाउँ भएको छ ।’ स्थानिय शान्ती रेग्मीले भनिन ‘जसले जे गरे पनि कसैलाई मतलब छैन । हुदा हुदां घर पनि काम नलाग्ने भैसक्यो’ स्थानिय स्तरमा गुणस्तरिय सेवा दिइ रहेको अस्पताल हेर्दा हेर्दे खतम भएको उनले बताइन । 

‘जङ्गल छेउमा भएको हुदा पशु चौपायाको चरन स्थल र केटाकेटीको खेल्ने ठाउँ भएको छ ।’ व्यासीकी सर्मिला थापाले भनिन । ‘पहिला विरामी पर्दा घर नजिकै उपचार पाइएला भनेर पेटमा पटुका कसेर श्रमदान गर्यौ अहिले अस्पतालको हालत यस्तो छ ’

२०६६ सालमा जापानी राजदुतावासको ६१ लाख ५० हजार साविक ब्याँसी गाउँ विकास समितिको ७० हजार, मटेला गाउँ विकास समितिको ३ लाख  र स्थानियको ५० लाख भन्दा बढी जनश्रमदान बाट निर्माण भएको थियो ।  

राष्ट्रिय योजना आयोगले हेल्थ असिस्टेन्ट तिन जना्,  अनमी एक जना  र दुई जना अहेब पदका स्वयंसेवक कर्मचारी खटाए पछि यो अस्पताल ४ वर्ष जति संचालनमा आएको थियो । ‘स्वयंसेवकहरुको अवधी सकिए पछी उनिहरु फर्किएनन । अरु कर्मचारीको व्यवस्था गर्न सकिएन’  अस्पताल व्यवस्थापन समितिका सचिव खड्क रावलले भने ‘कर्मचारी खटाई दिनका लागी धेरै ठाउँमा पहल गर्यौ । कतैबाट सहयोग भएन’ 

आफुहरुले जिल्ला र केन्द्र स्तरमा अस्पताल संचालनका लागी पटक पटक पहल गरे पनि कतैवाट वास्ता नगरिएको पछि आफुहरुले सहयोगको लागी पहल गर्नै छोडेको उनले बताए । 

माथिको तश्विरमा: धुलाम्मे बेड र जापान सरकारको स्टिकर लागेका उपकरणहरु |  

अस्पताल बन्द् भएपछि छविस पाथिभेरा र दुर्गाथली गाउँपालिका क्षेत्रका साविकका आठओटा गाविसका वासीन्दालाई सामान्य उपचारका लागि सदरमुकाम र बाहिरी जिल्ला धाउनु पर्ने बाध्यता रहेको र आपतकालिन उपचार नपाएर कतिपयले ज्यान गुमाइ सकेको उनले वताए । 

व्यवस्थापन समितिका पदाधिकारीले यस्तो वताए पनि व्यवस्थापन समितिको कमजोरीका कारण अस्पताल वन्द हुन पुगेको स्थानियहरुको आरोप छ । अस्पताल बन्द भए पनि भौतिक संरचना र उपकरणको सुरक्षामा समितिले व्यवास्ता गरेको स्थानियको भनाई छ । 

अस्पताललाई पुनसंचालनमा ल्याउनका लागी गाउँपालिकाले पहल गर्ने सोच बनाएको छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताए । उनले अस्पताल व्यवस्थापन समितिसँग छलफल गरे पछि अस्पताललाई आवश्यक पर्ने जनशक्तीको व्यवस्थापन गरिने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!