विदेश जान, बिमा शुल्क, कल्याणकारी कोषमा कति-कति खर्च लाग्छ ?

Posted on: 24 Sep, 2018

फ्रि भिसा फ्रि टिकटबारे जानकारी 

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रलयले २०७२ असार २१ गते गरेको निर्णय अनुसार 'फ्रि भिसा फ्रि टिकट'मा वैदेशिक रोजगारीमा जाँदा तपाईँको विदेश जानको लागि चाहिने टिकट र भिसा शुल्क तिर्नुपर्दैन | उक्त बापतको शुल्क कम्पनीले नै बेहोर्नुपर्ने नेपाल सरकारको नियम छ | सरकारको यो नीति अनुसार वैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीहरुले बैदेशिक रोजगारीमा कतार, साउदी, युएई, बहराइन, कुवेत, साउदी अरव र मलेसिया जान करिब रु १०,००० भन्दा बढी शुल्क तिर्नुपर्दैन तर म्यानपावर कम्पनीहरूले सरकारको नीतिलाई कुल्चिएर जमनपरी अशुली गर्दै आएका छन् | म्यानपावर कम्पनीहरुले मनपरी शुल्क लिने कुरामा सम्बन्धित निकाय सबै जानकार रहंदा पनि त्यसको कडाई हुनसकेको छैन | म्यानपावर कम्पनीहरुले कतार, साउदी, युएई, बहराइन, कुवेत, साउदी अरव र मलेसिया जान १०,००० भन्दा बढी लिन नपाउने नीतिलाई टेकेर घरेलु कामदार, व्युटीपार्लर, सेक्युरिटी गार्ड तथा अन्य पदमा जान छुट्टाछुट्टै तरिकाले अशुली गर्छन | पछिल्लो समय सेक्युरिटी गार्डमा रोजगारीमा जान तलब अनुसार न्युनतम डेढ लाख देखि ९ लाखसम्म अशुली हुने गरेको बैदेशिक रोजगारीमा जानेहरुले गुनासो गर्ने गरेका छन् | बिभिन्न पदमा जाँदा मेडिकल शुल्क भने फरक-फरक लाग्न सक्छ | 

पैसा दिदा एजेन्टलाई दिने कि म्यानपावरलाई ?

बैदेशिक रोजगारीमा जान चाहने नेपालीले म्यानपावर बाहेक अन्य कसैसंग कारोवार गर्नुहुँदैन तर व्यक्तिगत रुपमा पैसा बुझाउँदा ठगि बढेको छ | नियम अनुसार पैसा तिर्दा म्यानपावर कम्पनीलाई नै तिर्नुपर्ने र पैसा तिरेको रसिद अनिवार्य लिनुपर्ने हो तर म्यानपावरले पनि बिना रसिद पैसा अशुली गर्छन | रसिद सहित पैसा बुझाउँदा पछी ठगिमा परे आफूले तिरेको पैसा अशुली गर्न सजिलो हुन्छ | 

म्यानपावर कम्पनीले विदेश पठाउन सकेन भने पैसा फिर्ता हुन्छ कि हुँदैन ?

वैदेशिक रोजगार ऐन २०६६ का अनुसार म्यानपावर कम्पनीले विदेश पठाउन नसकेमा वार्षिक २०% ब्याज सहित पैसा फिर्ता गर्नुपर्छ | यो पैसा पैसा म्यानपावर कम्पनीले नदिएमा वैदेशिक रोजगार विभागले म्यानपावरले धरौटी राखेको रकमबाट नै दिलाईन्छ | 

बैदेशिक रोजगारीमा जान स्वास्थ्य परीक्षण खर्च कति लाग्नुपर्ने हो ?

पुरुषलाई रु २,९४० र महिलालाई रु ३,१०० लाग्नुपर्ने हो तर मेडिकलहरुले ४५०० भन्दा माथिसम्म अशुली गर्दै आएका छन् |

कल्याणकारी कोषमा कति जम्मा गर्नुपर्छ ? 

श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा जाने कामदारले अधिकतम् २ हजार ५ सय रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ ।

कल्याणकारी कोषमा पैसा जम्मा गर्दा के फाइदा ?  

कल्याणकारी कोषमा पैसा जम्मा गर्नाले विदेशमा अङ्ग-भङ्ग भएमा, प्राणघातक रोग लागेमा वा मृत्यु भएको अवस्थामा समेत क्षतीपूर्ति पाउन सकिन्छ | वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विशेषगरी वैदेशिक रोजगारीमा मृत्यु भएकाका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च र विदेशमा अलपत्र परेकाको शव ल्याउन कोषको रकम खर्च गर्ने गरेको छ ।  यसैगरी रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह तथा आर्थिक मन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन, विदेशमा सुरक्षित गृह सञ्चालन गर्न पनि धेरै पैसा खर्च गर्ने गरेको छ । बोर्डले वैदेशिक रोजगारीमा जाने कामदार र व्यवसायीको हकहित संरक्षणका लागि सो रकम खर्च गर्नुपर्छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग र गम्भिर रोग लागेका कामदारले पाउने राहत रकम ७ लाख रुपैयाँ कोषबाट पाइन्छ ।

अभिमुखीकरण तालिमको लागि कति खर्च लाग्छ ?

यसको लागि रु ७०० रुपैयाँ तिर्नुपर्छ तर महिलाहरूले भने वैदेशिक रोजगार प्रवर्दन बोर्डबाट फिर्ता पाउछन् ।

बिमा गर्न कति पैसा लाग्छ ?

बिमा शुल्क रु ३,००० देखि रु १९,००० सम्म लाग्न सक्छ तर कामको प्रकार, विदेश जाने व्याक्तिको उमेर, विदेशमा बस्ने अवधि हेरेर बिमाको शुल्क फरकफरक पर्छ । 

बैदेशिक रोजगारमा जाँदा मृत्यु भएका कामदारको परिवारले बिमा बापत १५ लाख रकम पाउछन् । जीवन बीमा वापत १० लाख, बीमितको आयको नोक्सानी वापत २ लाख, क्रिया खर्च बापत १ लाख, औषधि उपचार खर्च बापत १ लाखसम्म, शव ल्याउन खर्च बापत १ लाखसम्मको व्यवस्था गरिएको छ । 

घातक रोग (Critical Illness­­) लागी मृत्यु नभएको तर शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म, बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ लाख र घातक रोगबापत ५ लाख गरी कुल १८ लाखसम्म प्राप्त हुनेछ ।

अस्वस्थताको अवस्थामा घातक रोग अन्तर्गतको तत्काल पाइने बीमा दाबी ब्यबस्था गरिएको छ । अब नयाँ ब्यवस्था अनुसार घातक रोग प्रमाणित भएमा बीमाबाट प्राप्त हुने सबै रकम बीमीतले तत्काल पाउन सक्नेछन् । यसरी प्राप्त हुने रकमले बिरामीलाई उपचार गराउन सहयोग पुग्नेछ ।

त्यस्तै घातक रोग बापत ५ लाख थपिएसँगै २० लाख पुगेको हो। यो व्यवस्था माघ १५ गतेबाट लागू हुनेछ।२०७३ माघ १५ गते श्रम स्वीकृति लिएका कामदारलाई १५ प्रकारका गम्भीर प्रकृति रोग लागेमा ५ लाख बीमा रकम पाउने व्यवस्था लागु गरिएको छ । 

गम्भीर प्रकृति रोग के-के हुन् ? 

१) क्यान्सर  (Cancer)       

२) मृगौला  (Kidney Failure)          

३) उच्च रक्तचाप  (Primary Pulmonary Arterial Hypertension)     

 ४) प्रमुख अँग प्रत्यारोपण  (Major Organ Transplant)    

५) क्रोनरी धमनी वाईपास  (Coronary artery by-pass grafts)         

६) महाधमनी सर्जरी  (Aorta Graft Surgery)     

७) मुटु भल्भ सर्जरी  (Heart Valve Surgery)          

८) झड्का   (Stroke)      

९) रोधगलन  (Myocardial Infarction)       

१०) कोमा  (Coma)   

११) पूर्ण दृष्टी बिहिन  (Total Blindness)          

१२) प्यारालाईसिस  (Paralysis)     

१३) ब्रेन ट्यूमर (Benign brain tumor)   

 १४) बिभिन्न भाग सुन्नीएको  (Multiple Sclerosis)           

१५) मानसिक रोग  (Mental illness)     

बैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृति अवधि भित्रको विदा वा विरामी भई करार अवधिभित्र नेपालमै मृत्यु भएपनि वा श्रम स्वीकृतिको म्याद सकिएको थप एकवर्ष भित्र मृत्यु, अंगभंग वा गम्भीर प्रकृतिको विरामी भएका कामदारले सुविधा पाउँछन् । 

बैदेशिक रोजगार (म्यादी) जीवन बीमा के हो ? 

बैदेशिक रोजगारमा जाने कामदारको सुरक्षाको लागि तयार पारिएको बिमा नै बैदेशिक रोजगार (म्यादी) जीवन बिमा हो । यो बिमा निश्चित अवधिको लागि मात्रै हुन्छ ।

कामदारको भिसा अवधिको आधारमा यो बिमालेखको अवधि निश्चित गरिन्छ । यसलाई सरकारले अनिवार्य गरेको छ । यस योजनाले बिमा अवधि भित्र विमितको मृत्यू भएमा निजले इच्छाएको व्यक्तिलाई क्षतिपूर्ति भुक्तान गर्छ । त्यस्तै, यस योजनाले घातक रोगहरु जस्तै, मृगौला फेलर, क्यान्सर जस्ता बिभिन्न रोग लागेमा तत्काल क्षतिपूर्ति समेत भुक्तान गर्छ । यस्तो बीमाको अवधि कम्तिमा एक वर्षको हुन्छ । यस योजनाको विमांक रकम १५ लाख रुपैयाँ रहेको छ । घातक रोग लागेको अवस्थामा कम्पनीले थप अधिकत्तम ५ लाख रुपैयाँ भुक्तान गर्छ ।

बिमा गरेर पनि पैसा नपाउने अवस्था 

बिमाले कानुन बमोजिम पाएको अनुमति पाएको उडान बाहेक अन्य उडान गर्दा, कुनै युद्धमा संलग्न भएमा, नागरिक वाजंगी ऐन भंग गरेमा, नेपाल सरकारले बैदेशिक रोजगारीका लागि निषेध गरेको मुलुक गएमा, बीमितको मुत्यु वा अपाङ्गता वा अंगभंग भएमा बीमकले कुनै पनि दायित्व वहन गर्दैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!