दक्षिण कोरियामा रोजगारी: २०१९ मा ५६ हजारको माग, फागुनमा आवेदन, जेठमा परीक्षा

Posted on: 28 Dec, 2018

पुष १३, काठमाडौँ | दक्षिण कोरियामा सन् २०१९ मा नेपालसहित १५ मुलुकबाट करिब ५६ हजार कामदार माग हुन सक्ने सरकारी अधिकारीहरूले आंकलन गरेका छन् । जस मध्ये १० हजार नेपालीको माग हुन सक्ने बताइएको छ । 

सन् २०१७ मा नेपाललाई करिब १० हजारको हाराहारीमा कामदार कोटा निर्धारण गरिएको थियो भने २०१८ मा करिब आठ हजारको हाराहारीमा कोटा निर्धारण भएको थियो । कोरियाले सुरुदेखिनै एक बर्ष कोटा घटाउने र अर्को बर्ष बढाउने गरेकोमा अघिल्लो बर्ष कोटा घटाएकोले यो पटक बढाउने बताइएको छ । कामदार छनोटका लागि दशौँ भाषापरीक्षा आगामी फागुनमा आवेदन माग गर्ने गरी सरकारले तयारी अगाडि बढाएको छ । परीक्षा भने जेठको अन्तिम र असारको पहिलो हप्ता गर्ने सरकारी योजना छ । कोरियाले फागुनमा कोटा निर्धारण गर्नेछ ।

नेपालबाट दक्षिण कोरिया बैदेशिक रोजगारीको लागि निकै भरपर्दो र आकर्षक गन्तव्य मानिन्छ । त्यसो त बर्षेनी नेपालबाट कोरिया जानकै लागि दिने भाषा परिक्षाको आवेदनले पनि यस बिषयलाई स्पष्ट पार्छ । सरकारी प्रक्रियाबाट कोरिया जान निकै सस्तो पर्ने र तलब पनि भनेजस्तो हुने हुँदा नेपालीहरुलाई दक्षिण कोरियामा बैदेशिक रोजगारीको लागि आकर्षण बढ्नु स्वभाविकनै हो ।  


उता नेपाली कामदारहरूले देखाएको काम प्रति लगाव र इमानदारीताको कारण पनि दक्षिण कोरियामा नेपाली जनशक्तिको माग बढेको अवस्था छ । 

कोरियामा नेपालीको माग भाषामा आधारित हुन्छ । कोरियाली भाषा सिक्नका लागि राजधानीमा बर्षेनी झन्डै १ लाख आकांक्षीहरुको भीड लाग्ने गरेको छ । त्यसो त त्यसैको लागि देशभरी हजारौंको शंख्यामा भाषा सिकाउने सेन्टरहरु खुलेका छन् । 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा जति महत्वपूर्ण छ त्यतिनै महत्त्वपूर्ण शारीरिक अवस्था र स्वास्थ्य परीक्षण हो । कोरिया जानु अघि स्वास्थ्य परीक्षण कम्तीमा दुई पटक गर्नुपर्ने हुन्छ । कोरियाको भाषा परीक्षामा उत्तीर्ण भइसकेकाहरुको स्वास्थ्य परिक्षण हुन्छ । कोरियामा अध्यागमन पार गरेर लगिने कामदार प्रशिक्षण केन्द्र पुगेपछि पुन: एक पटक सरुवा रोग लगायतको जाँच गराइन्छ । उक्त परीक्षण पास गर्न नसकेको अवस्थामा कामदारहरूलाई सम्बन्धित देशमै फिर्ता पठाउने गरिन्छ ।

कामदारको तलब

कोरियामा कामदारहरूको तलब मासिक करिब डेढ लाख रुपैयाँदेखि तीन लाखसम्म हुन्छ । कामको क्षेत्र, प्रकृति र कामदारको काम गर्ने क्षमतामा तलब भर पर्छ । कोरियामा आम्दानी मात्रै नभएर कामदारले पाउने सेवा-सुविधाको पारदर्शिता महत्वपूर्ण मानिन्छ । कामदारले हरेक घण्टाको हिसाब र उत्पादकत्वसँग जोडेर तलब पाउने हुँदा कामदार पनि लगावका साथ काम गर्छन । 

बैदेशिक रोजगारीमा शिक्षा सँगै कामदारको काम गर्ने क्षमतालाई महत्व दिइन्छ । जतिसुकै शिक्षित भएपनि काम गर्न सक्ने क्षमता राख्दैन भने त्यसले महत्व राख्दैन । त्यसैले पनि कोरिया जानु अघि २ पटकसम्म स्वास्थ्य परिक्षण गराइन्छ । शारीरिक रुपमा पूर्ण स्वस्थ छ भन्ने प्रमाणित भईसकेपछी मात्र कोरियामा रोजगारीको लागि बाटो खुल्छ । रोजगारदाताले शारीरिक रूपमा कष्टपूर्ण काम गर्न सक्ने र आफ्नो कम्पनीका लागि उपयुक्त भूमिका खेल्न सक्ने कामदार छान्ने हुँदा जस्तो पायो त्यसो व्यक्ति कोरियाको लागि फिट नहुन सक्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!