श्रीनाथकोटमा ६६ लाखमा वडा कार्यालय भवन पुनःनिर्माण

Posted on: 26 Mar, 2017


चैत १३, गोरखा । ६६ लाखको लगानीमा सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट वडा कार्यालय भवन पुनःनिर्माण गरिएको छ । 

श्रीनाथकोट गाविस भवन पुनःनिर्माण गरिएको भए पनि श्रीनाथकोट गाविस सिरानचोक गाउँपालिकामा समायोजन भएपछि वडा कार्यालय बनाइएको हो । असल छिमेकी नेपाल, पोखराले चार कोठे पक्की भवन पुनःनिर्माण गरेपछि सेवा प्रवाहमा थप सहज भएको वडा सचिव रेखा पाइजाले जानकारी दिनुभयो । 

स्थानीय विकास अधिकारी नारायण आचार्यले साविक गाविसले गर्दै आएका कामकाज अब थप सेवासहित वडा कार्यालयले गर्ने जानकारी दिँदै जग्गा पारित र नागरिकता बनाउन मात्रै सदरमुकामको सट्टा गाउँपालिकाको केन्द्र धाउनुपर्ने बताउनुभयो । 

गाउँपालिकाको नाम वा केन्द्रबारे चित्त नबुझेको भए निर्वाचनपछि सामान्य बहुमतले परिवर्तन गर्न सकिने कानुनी बाटो रहेको आचार्यको भनाइ छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!