गोरखामा ६५ विद्यालय पुनःनिर्माण

Posted on: 17 Apr, 2017

बैशाख ४, गोरखा । बारपाक केन्द्र रहेर गोरखा भूकम्प गएको दुई वर्ष पुग्नै लाग्दा भूकम्पले भत्काएका ४४३ विद्यालयमध्ये गोरखामा ६५ वटा विद्यालयमात्रै पुनःनिर्माण सम्पन्न भएको छ । 

तीनसय ७८ विद्यालय पुनःनिर्माण गर्न बाँकी रहेको बताउँदै जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले यो शैक्षिक सत्र पनि केही विद्यालयका विद्यार्थीले टहरोबाटै शिक्षा लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनुभयो । 

सरकार, दातृ निकाय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा १५१ वटा विद्यालयका भवन पुनःनिर्माण भइरहेका छन् । जिशिअ सुवेदीले भन्नुभयो – “विद्यालय पुनःनिर्माणका लागि स्रोत खोजिरहेका छाँै । ७५ वटा विद्यालय पुनःनिर्माणमा हालै स्रोत जुटेको छ ।” प्राथमिक तहका विद्यालयहरु पुनःनिर्माणमा स्रोत जुटाउन धौ–धौ परेको सुवेदीले दुखेसो गर्नुभयो । 

सुवेदीले भन्नुभयो – “१४४ वटा विद्यालय पुनःनिर्माण गर्न स्रोतको अभाव छ । दाताको खोजी गरे पनि भेटाइएन । अब सरकारी तवरबाटै ती विद्यालय बनाउनुपर्छ ।” गोरखामा १११ माध्यमिक र ६३ निमावि तहका विद्यालय छन् । शिक्षक सङ्ख्याभन्दा पनि कम विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको छ । 

भूकम्पपछि ५९ वटा विद्यालय नजिकका अर्को विद्यालयमा समायोजन गरिएको हो । जापानी सहयोग नियोगले २८ वटा, भारतीय दूतावासले ३५ वटा, चिनियाँ दूतावासले एउटा विद्यालय पुनःनिर्माण गरिदिने प्रतिबद्धता जनाएअनुसार काम सुरु गरेका छन् । 

शिक्षा विभागको सहयोगमा ३५२ वटा कोठा निर्माण गर्ने तयारी शिक्षा कार्यालयको छ । आउँदो शैक्षिकसत्रदेखि विद्यार्थी भूकम्प प्रतिरोधी विद्यालय भवनमा बसेर पठनपाठन गर्न पाउने सुवेदीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!