गोरखा काँग्रेसद्वारा जिल्ला सदस्य मनोनीत

Posted on: 03 Feb, 2017

माघ २१, गोरखा । जिल्ला अधिवेशन सम्पन्न भएको एक वर्षपछि नेपाली काँग्रेस गोरखाले जिल्ला सदस्य र आमन्त्रित सदस्य मनोनीत गरेको छ । 

मनोनीत गर्नुपर्ने उपसभापति र सहसचिव पदमा भने आकाङ्क्षी धेरै भएपछि अझै मनोनीत गर्न सकेको छैन । गत वर्ष माघ २५ गते जिल्ला अधिवेशन भएको थियो । 

क्षेत्र नं १ बाट महासमिति सदस्य राजनराज पन्त, विश्वदेव श्रेष्ठ र इमानसिंह बस्नेतलाई जिल्ला सदस्यमा मनोनीत गरेको हो । यस्तै क्षेत्र नं २ बाट बलराम खड्का र राजु गुरुङ जिल्ला सदस्यमा मनोनीत भए । क्षेत्र नं ३ बाट नुर्ब छुदेन गुरुङ र डिल्लीराम तिमल्सेना जिल्ला सदस्य मनोनीत भएको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

बिहीबार बसेको बैठकले गङ्गाप्रसाद अधिकारी, जीवनराज वन्त, भीमप्रसाद अर्याल, तारानाथ पुडासैनी, रामशरण अधिकारीलाई आमन्त्रित सदस्यमा मनोनीत गरेको सचिव न्यौपानेले जानकारी दिनुभयो । 

एक सदस्यसहित केही आमन्त्रित सदस्य मनोनीत गर्न बाँकी रहेको छ । माघ २९ गते पालुङटारमा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आउने कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!