विप्लव माओवादीद्वारा चन्दा नदिए जनकारबाही गर्ने धम्की

Posted on: 05 Feb, 2017

माघ २३, गोरखा | नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले गोरखाका गाविस सचिवसँग जबरजस्ती चन्दा उठाउन थालेको छ । गाविस सचिवका अनुसार विप्लव माओवादीका कार्यकर्ताले एक जना सचिवले १० हजार रुपैयाँका दरले अनिवार्य चन्दा दिनुपर्ने छ ।

गाविसको काम छोडेर आफ्ना माग पूरा गराउन जिविसमा धर्ना बस्दै आएका सचिवलाई भेटेर विप्लव माओवादीका कार्यकर्ता रामप्रसाद लामिछानेले १० हजार रुपैयाँका दरले चन्दा दिन उर्दी गरेका हुन् ।

‘एकजना आएर १०/१० हजार रुपैयाँका दरले चन्दा दिनुपर्यो भने’ नाम उल्लेख नगर्ने सर्तमा एक गाविस सचिवले भन्नुभयो ‘त्यति पैसा त दिन सकिन्न, व्यक्तिगत रुपमा सकेको दिन्छौं भन्ने साथीलाई जनकारबाहीको भागिदार हुनुपर्ला भनेर धम्क्याए ।’ सामूहिक रुपमा गाविस सचिवलाई भेटेका लामिछानेले चन्दा नदिए पार्टीको सम्मेलनपछि जनकारबाही गर्ने धम्की दिएका हुन् । 

व्यक्तिगत रुपमा स्वेच्छिक नगद सहयोग गर्न सकिने तर गाविसको कोषको १० हजार रुपैयाँ दिन नसकिने बताएका केही सचिवलाई लामिछानेले छुट्टै बोलाएर धम्क्याएको सचिवहरुले बताएका छन् । विप्लव माओवादीले जिल्लाका सबैजसो सरकारी कार्यालयहरुमा चन्दा माग गर्दै पत्र पठाएको छ । तर सचिवसँग भने मौखिक रुपमा चन्दा मागिएको हो । 

‘मसँग पनि चन्दा दिनुपर्‍यो भन्न आउनु भएको थियो’ स्थानीय विकास अधिकारी नारायण आचार्यले भन्नुभयो ‘मैले चन्दा दिने छुट्टै बजेट हुँदैन, व्यक्तिगत रुपमा सहयोग गरौंला भनेको छु ।’

सचिवसँग चन्दा माग गर्दै धम्की दिइएको बारे आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो । थप धम्की आए प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई लिखित रुपकै जानकारी गराउने र सुरक्षाको माग गर्ने गाविस सचिव बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!