गोरखाको सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत

Posted on: 21 Jun, 2021

असार ७, गोरखा (रासस)। उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सल्लेरीका विस्थापित परिवारका लागि आज अत्यावश्यक राहात सामग्री पुर्याइएको छ । 

लगातारको वर्षाका कारण बुढीगण्डकी नदीमा आएको भिषण बाढीले घर बगाएर विस्थापित भएका सल्लेरीका बाढी पीडितलाई सिम्रिक एयरको हेलिकप्टरबाट राहत सामग्री पुर्याइएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश सरकारले विस्थापितका लागि उपलब्ध गराएको ३० थान टेन्ट, उद्योग वाणिज्य सङ्घ र लायन्स क्लब अफ गोरखामार्फत प्राप्त भएको एक हजार ४४० किलो चामल, ६० लिटर खानेतेल, नुन, दाललगायत सामग्री त्यहाँ पठाइएकोे प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । सेफ्टी किट र औषधिलगायत अत्यावश्यक सामग्री पनि सल्लेरी पुर्याइएको  उहाँले बताउनुभयो ।

त्यस्तै विस्थापितका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले  ९० थान कम्बल उपलब्ध गराएर हेलिकप्टरमार्फत नै सल्लेरी पठाइएको शाखाका सभापति भगवानबावु मास्केले जानकारी दिनुभयो । छब्बीस घरधुरी रहेको सल्लेरीमा बुढीगण्डकी नदीमा आएको बाढीले पाँच घर बगाएको छ भने गाउँ नै जोखिममा परेको छ ।  प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीका लागि माउण्टेन चाइल्ड जावलाखेलले हेलीकप्टर चार्टर गरिदिएको हो । संस्थाले पाँच पटक गरेर राहत सामग्री सल्लेरी पुर्याएको संस्थाका समन्वय अधिकृत सर्मिला मानन्धरले जानकारी दिनुभयो । 

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा एक स्थानीय संस्थासँग समन्वव्य गरेर शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले विस्थापितका लागि सेफ्टी किटमा सर्जिकल मास्क, स्यानिटाइजर, साबुन, टुथपेष्ट, ब्रस, रुमाल, टिस्यूपेपर, बिस्कुट तथा स्यानिटरी प्याड जस्ता सामग्री पठाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!