गुल्मी यातायातले संस्थाबाट व्यक्तिका नाममा करोडौं रकम निकालेको खुलासा

Posted on: 21 May, 2018

प्रेम सुनार | जेठ ७, गुल्मी | सरकारले  यातायात ब्यवसायीहरुको सिन्डीकेट खारेज गर्ने क्रम सुरु गरी रहेका वेला गुल्मी यातायात ब्यवसायी संघले संस्थाको नाममा रहेको खाताबाट ५ जना ब्याक्तिका नाममा १ करोड ४० लाख रुपैयाँ निकासा गरेको खुलासा भएको छ । संघका अध्यक्ष रुपकलाल श्रेष्ठले  जिल्लाका झण्डै पौने तिन सय गाडीहरु  मर्मत सम्भार र स्तरोन्नतीका लागि प्रति गाडी ५० हजारका दरले व्यवसायीहरुलाई रकम वितरण गर्ने गरी उक्त रकम निकालेको    खुलासा  गरेका हुन् । 

सरकारले सिन्डिकेट खारेज  गर्ने र खाता रोक्का गर्ने भने लगत्तै तपाईहरुले  धमाधम व्यक्तिका नाममा रकम निकालियो भन्ने आरोप लगाईएको छ नि ?  भन्ने प्रश्नमा उनले भने–‘ त्यो मिथ्या कुरा हो । हामीले चैत्र महिना मै यस्तो निर्णय गरेर रकम निकासा गरेका हौं । सरकारले सिन्डीकेट लागु गर्नु र हामीले रकम  निकाल्नु वाख्रो हराउनु  किरो कराउनु जस्तै हो ।’

अध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्ष रमेश श्रीस् , महासचिव उक्तम कुँवर ( हिमाल कुँवर ) र कोषाध्यक्ष ज्ञानु सापकोटा सहितको तिन सदस्यीय कार्य दल बनाएर उक्त रकम निकासा गरी काम सुरु गर्ने निर्णय गरिएको बताए । उक्त कार्यादल थप दुई जना कमल श्रेष्ठ र नारायण ज्ञवाली सहित ५ जनाले जनही २८ लाखका दरले शाईन रेसुङ्गा डेभलभमेण्ड बैंक र गण्डकी विकास बैंकबाट एकै दिन उक्त रकम निकालेको महासचिव हिमाल कुँवरले बताए । ‘ठ्याक्कै मिति अहिले कागजमा नहेरी भन्न सक्दिँन, कुँवरले भने–‘ हामी ५ जनाले एकै दिन २८ लाखका दरले रकम निकालेका हौं । ’  


पौने तिन सय गाडी ब्यवसायीलाई बाँड्ने भनिएकोमा अहिले सम्म कति जनालाई बाँडियो त ? भन्ने प्रश्नमा उनले करिव २ सय जनालाई बाँडी  सकिएको बताए ।  अधिकांस यातायात ब्यवसायीहरुले कुनै भेला नै नवसी समितिका सिमित मानिसहरुले मात्र निर्णय गरेर रकम अपचलन गर्ने प्रयासमा जुटेको आरोप लगाउँदै आएका छन् । मर्मत सम्भार स्तरोन्नतीका लागि यातायात ब्यवसायीहरुको भेला डाक्नु पर्ने , भेलाले निर्णय गरेर मात्र मर्मतका लागि रकम वितरण गरे सोही खाता बाटै निकासा गर्नु पर्ने , किन ब्यक्तिका नाममा निकालियो त ? यस्तो प्रश्न अधिकांस साना यातायात ब्यवसायीहरुले गरेका छन् । 

त्यस रकम निकासा गरिएको  चर्चा झण्डै एक महिना देखि चुलिदै आए पनि न यहाँको सञ्चार माध्याम खोजी नीति तर्फ लाग्यो न त यहाँको प्रशासनले मुख खोल्यो ।    यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा संग जिज्ञाषा राख्दा गृह मन्त्रालयको निर्देशन अनुरुप  प्रशासनले त्यस संघको सम्पुर्ण विवरण सहित बैंक स्टेटमेण्ड समेत माग गरेको र आईतबार मात्रै त्यसका पदाधिकारीले पेश गरेको बताए । 

उनले भने–‘ निकासा गरिएको उक्त रकमका अलवा थप ३० लाख जति संस्था कै खातामा रहेको  छ भन्ने बुझिएको छ  । वृहस्तृत रुपमा हामी बुझ्दै छौं र सवै कुराको छानविन भए पछि मात्र हामी वाहिर ल्याउने छौं  । ’ गुल्मी यातायात ब्यवसायी संघ आज भन्दा ६ वर्ष अघि पनि ५० लाख घोटला काण्डमा अख्यिारको फन्दामा परेको थियो । त्रिपाल बढि भएको  गाडीमा फलामे हुट राख्ने निर्णय गराउने कार्यमा उक्त खर्च भएको विल  संघका पदाधिकारीले पेश गरेको विरुद्ध असन्तुष्ट यहाँका केहि यातायात ब्यवसायीहरुले अख्तियारमा उजुरी हालेका थिए । जुन विषय पछि जिल्ला प्रशासनले कसरी मिलायो ? भन्ने कुरा समेत सर्वसाधरणले थाह पाउन सकेका छैनन् । पछिल्लो यो विषयलाई सरोकारवालाले गम्भीर ढंगले लिएका छन  र प्रशासनको भुमिका कस्तो रहला ? भन्ने विषयमा प्रतिक्षारत छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!