तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना, गुल्मीमा कार्यरत सव–इञ्जिनियर पक्राउ

Posted on: 29 Jul, 2018

साउन १३, काठमाडौँ (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना, गुल्मीमा कार्यरत सव–इञ्जिनियर प्रकाश झालाई रु एक लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

सडक आयोजनाको ठेक्काको बिल मूल्यांकन गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले इञ्जिनियर झालाई पक्राउ गरेको हो । 

आयोगले सव–इञ्जिनियर झालाई शनिबार पक्राउ गरेको भए पनि आज सार्वजनिक गरेको हो । आरोपीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

यस्तै शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भैरहवाका प्रमुख सुरेश ठाकुरलाई रु ३६ लाख ७२ हजार ५०० रकमको भौचरसहित आयोगले शनिबार नै पक्राउ गरेको जनाएको छ । 

विभिन्न निर्माण कार्यको समयमा मूल्यांकन नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगले विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरेको भौचरसहित पक्राउ गरिएको आयोगले जनाएको छ । 

यस्तै आयोगले मालपोत कार्यालय, कलंकीका नायबसुब्बा शेरबहादुर थापाविरुद्ध अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दाको सरकारी साक्षीका रुपमा रहेका कपिलदेव खडकाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

यस्तै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा गरेको अभियोगमा पकवादी भञ्ज्याङ उच्चमाध्यमिक विद्यालय, स्याङ्जाका तत्कालीन प्रधानाध्यापक तिलकराम उपाध्याय पंगेनीविरुद्ध पनि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!