‘वालमैत्री विद्यालयमा सजाएँ दश थप्पड’

Posted on: 17 Aug, 2017

प्रेम सुनार/भदौं १, गुल्मी । केहि दिन अघि गुल्मीको मुसिकोटमा शिक्षक र अभिभावक विच भएको कुटपिट घटनाको नयाँ खुलासा भएको छ । 

वालमैत्री विद्यालय भनिएको मुसिकोट ४ को दिगामचौर प्राथामिक विद्यालयमा विद्यार्थीले कुनै गल्ती गरे वापत शिक्षकले नै अर्को विद्यार्थीलाई दश थप्पड गालामा हान्न लगाउने सजाएँ तोक्ने गरेको विरुद्ध शिक्षक र अभिभावक विच कुटपिट भएको खुलासा भएको हो ।

साउन २६ गतेका दिन शिक्षक विक्रम लिम्वुले कक्षा ५ की १२ वर्षिया विद्यार्थी वसन्ती रानाले कक्षा कोठामा खेले वापत अर्की विद्यार्थी सृष्टी रानालाई दश थप्पड  गालामा हान्न लगाए पछि त्यसको दोश्रो दिन उनका मामा राजेन्द्र राना र शिक्षक लिम्वु विच कुटाकुट भएको बताईएको छ । 

साउन २७ गते बसन्तीका मामा रानाको पसलमा शिक्षक लिम्वु गई तपाई मलाई कुट्छु भन्नु भा’छ रे हो ? भन्दै बाहिर निस्कन चुनौती दिए पछि दुबै विच कुटाकुट भएको दुबैले स्वीकार गरेका छन् ।

शिक्षक लिम्वु त्यस गाउँमा एक्लो समुदायको भएका कारण हेपिएको दावी गरेका छन् भने शिक्षक  लिम्वु मार्शल आर्टका खेलाडी समेत रहेकोले दादगिरी मच्चाईएको आरोप राना पक्षले लगाएका छन् । 

त्यहाँका अभिभावकहरुले वालमैत्री भनिएको त्यस विद्यालयमा  विद्यार्थीले कुनै गल्ती गरे वापत दश थप्पड सजाएँ  शिक्षकले नै तोक्नु निन्दनीय भएको बताएका छन् । उक्त दिन वसन्ती कक्षा कोठामा खेलेको बेला विक्रम सरले देखेर उनलाई दश थप्पड गालामा हान्न लगाएकोले आफुले हानेको सृष्टीले बताएकी छन् ।

वालमैत्री विद्यालय भनिएको उक्त विद्यालयमा शिक्षकले नै दश थप्पड सजाएँ तोक्दै आएको र वेला वेलामा कुटाई खाँदै आएको त्यहाँका विद्यार्थीहरुले गुनासो गरेका छन् । यस सम्बन्धमा जिल्ला शिक्षा मित्रमणी खनाल संग सम्पर्क राख्दा उनले वालमैत्री विद्यालयमा विद्यार्थीलाई कुटपिट सजाएँ तोकेको विषय प्रति गम्भीर ध्यानकृष्ट भएको बताए । 

उता शिक्षकले पनि कुटाई खाएको भन्ने जानकारी आएको छ जिल्ला शिक्षा अधिकारी खनालले भने त्यसको अघिल्लो दिन अर्की विद्यार्थीलाई लगाएर दश थप्पड सजाएँ तोकेर कुट्न लगाएको दुवै घटना प्रति गम्भीर ध्यानकृष्ट भएको छ , छानविन गर्दैछौं । ’

उक्त घटनाले अर्कै रुप लिन सक्ने देखेर शिक्षक लिम्वु नै पहिलै आएर जिल्ला प्रहरी कार्यालयमा आफु अभिभावकबाट कुटिएको भन्दै उजुरी दिएको अभिभावक पक्षको आरोप छ । 

शिक्षक लिम्वुले भने आफु त्यस गाउँमा एक मात्र लिम्वु समुदायको व्यक्ति भएकोले निजी श्रोतको शिक्षक जागीरमा बस्न आफुलाई नदिने षडयन्त्र हुँदै आएकोले आफुलाई कुटपिट गरेको बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!