बाग्लुङ्गमा धारा उद्घाटन भाईरल बारे भनियो–‘कांग्रेसले सिकोस्’

Posted on: 20 Aug, 2018

प्रेम सुनार | भदौ–४, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गमा समाजमा जे छ त्यही  बास्तविकता नलुकाईएको  एउटा दृश्य देखियो ।  सामाजिक सञ्जालमा भाईरल बनेको त्यस दृश्य थियो भदौं २ गते बाग्लुङ्ग नगरपालिका वडा नम्वर ७ स्थित साविकको मुलपानी गाविसमा कैगले ढिकीचौर खानेपानी योजनाको उद्घाटन समारोहको ।

हेर्दा हाँसो पनि उठ्ने र गहिरिएर  सोच्दा हाम्रो समाजको वास्तविकतालाई उजागार भएको त्यस दृश्यले चिन्तन मनन गर्नै पर्ने बन्यो ।  हिजो देखि  विभिन्न अनलाईलनमा  अत्यन्तै  भाईरल भएको छ । यसवारे उद्घाटन गर्ने जनप्रतिनिधी र उपभोक्ता समितिका ब्यक्तिहरु संग हामीले कुराकानी गरेका थियौ ।


जे थियो त्यही गरेका थियौंः अध्यक्ष 

त्यस खानेपानी उपभोक्ता समितिका अध्यक्ष होमनाथ गौतमले भने–‘यस नगरपालिका भित्रको यो गाउँ सबै भन्दा बिकट हो । २०४८ साल देखि लुथ्रन वल्र्ड भने एक विदेशी संस्थाले यहाँको खानेपानी योजना सुरु गरेको थियो । विचमा त्यतिकै बिच्कीए पछि यहाँका बासीन्दा निरास थिए । यसपालीको निर्वाचन पछि बाग्लुङ्ग नगरपालिकाले हाम्रो खानेपानी समस्यालाई गम्भीर रुपले लियो ।

उसले  ५ लाख भन्दा बढि करिव रकम पारी दिए पछि यहाँका प्रत्येक घरधुरीले ५ हजारका दरले उठायौं ।  सवै गरेर करिव १३ लाखतमा यहाँका १ सय ६ घरधुरी मध्ये बसाई सराई गरेर आएकाहरुले त्यो भन्दा बढि उठाउनु भयो । लिफ्ट समेत गरेर माथीका १० घरधुरी सम्म घर घरमा पानी पुराएका छौं ।

जुन तस्वीर अहिले सामाजिक सञ्जालमा भाईरल बनाईएको छ त्यो तस्वीर कार्यक्रम स्थलमा टाँगिएको त्रिपालको बाँसमा तत्काल उद्घाटन प्रयोजनका लागि मात्र हो । यो भ्याईरल बनाउनुको कारण गजवको छ ।  यस वडाका काग्रेस सभापति शशीधर उपाध्यले माथी ट्याङकी मै उद्घाटन गरौं भन्नु भएको थियो ।

हामीले कार्यक्रम स्थल मै गरौं भनेर झरियो । कार्यक्रम धेरै तामझाम र समय बढि नलम्बाउँ भन्ने सोचेर हामीले कुनै पनि राजनैतिक दलको तर्फबाट बोल्न नलगाई बरु उपभोक्ताहरुले हाल सम्म भोगेको  पिडा बोल्न लगायौं । उहाँहरु आँखाबाट आँशु झारेको दृश्यले अतिथीहरु भवुक हुनु भएको थियो ।

आफु बोल्न नपाएको असन्तुष्टि सभापति उपाध्याय ज्युले त्यही ब्यक्त गरेको सुईको मैले पाई सकेको थिएँ । उहाँले छोरा देबेन्द्र गौतमलाई लगाएर उक्त तस्वीर भाईरल बनाउनु भएको हो । हामी त समाजको बास्तविकता जे छ त्यही पस्कीने हो । घर घरमा पाईपमा पानी पुगेको छ तर धारा बनाउन नसकिएको सत्य हो । हामी देखालो तामझाम चाँहदैनौं । चाहेको भए एउटा गतिलो पक्की धारा बनाएर उद्घाटन गराउन सक्ने थियौं ।

जनताको घर घरमा पक्की धारा दिन सकिएको छैन तर कांग्रेस सभापतिले माथी पक्की ट्याङकीमा उद्घाटन गराउन भनेको कुरा हामीले न चाहेकै हो, रियालीटी दिन खोजे कै हौं । हामीले कार्यक्रमको खाजा खर्च समेत कम गरेका छौं ।

खिर पकाउने भनेर दुध मगाएका थियौं । त्यो दुध फाटे पछि खिर पकाउन सकेनौ । पछि मेयर ज्यु र सांसद लगायतका अतिथीहरुले चिउरा खाएर जानु भएको हो । समाजको यर्थात लुकाएर तामझाम गर्ने विषयलाई सारा काग्रेजन र हामी सवैले सिक्नु पर्छ । ’

मलाई बोल्न दिएनः कांगे्रस सभापति

त्यस वडाका कांग्रेस सभापति  उपाध्यायले त्यस कार्यक्रममा आफुलाई बोल्न नदिएको प्रति असन्तुष्टि जाहेर गरे । उनले पुर्र्व एमालेहरुलाई विभिन्न आरोप लगाउँदै  भने–‘ यो कुरा लेखि दिनुस कि यहाँ एमालेहरुले हरेक कुरामा एकलौटी गरेका छन ।

कसैका पनि घरमा धारा छैनन तर उनिहरुले घर घरमा धारा भनेर प्रचार गरेको हामीलाई चित्त बुझेको छैन । हामीले २०४८ साल देखि लुथ्रन सेवा समाजबाट खानेपानीको काम सुरु गरेका हौं । साविकको गाविस देखि रकम छुट्टाउँदै आएका हौं ।

अहिले यस वडामा  नगरपालिकाले ४ लाख ३५ हजार रकम छुट्टायो । त्यसबाट यति काम भएको तर उनिहरुले सम्पन्न नहुँदै सम्पन्न भयो भनेर गलत प्रचार गरेका छन् । जनताले पाँच पाच हजारका दरले रकम हालेका हुन । यहाँ आएर हेर्नुस रातामाटा कालिमाटी मोटरबाटोमा ७० लाखको टेण्डर गरिएको हो ।

काम राम्रो भएको छैन । अर्को मोटरबाटोमा ९ लाखको टेण्डर ठेकेदार कुमार खड्कालाई परेको हो । ढुङ्गा ओसार पोसार छ । कतै पनि काम राम्रो भएकै छैन । त्यसैले होला मेरा छोराले त्यो फोटा भाईरल बनाए होला ।

प्रशंसा गर्ने कामलाई बदनाम गराईयो ः मेयर

पुर्व नेकपा एमालेबाट बाग्लुङ्ग नगरपालिका मेयर बनेका जनकराज पौड्याल संग सम्पर्क राख्दा  उक्त तस्वीर भाईरल बनाउने र गलत प्रचार सामाजिक सञ्जालमा गरेको प्रति अनौठो लागेको बताए ।  त्यहाँका १ सय ६ घरधुरीमा पानी त पुग्यो तर धारा बनाउन त्यो रकमले नपुगेको रियालिटी दिन हामी खोजेका हौं ।

समाजको वास्तविकता लुकाउने राजनैतिक दलका मान्छे हामी परेनौ । एउटा सामन्य काममा ठुलो तामझाम देखाउने , उद्घाटनमा खशी ढलाउने, समाजको वास्तविकता लुकाएर निकै ठुलो काम गरे जस्तो हामी देखाउँदैन । विकट गाउँ हो त्यो । त्यहाँ पानीको हाँहकार र मोटरबाटोको समस्या देखि हरेक कुरामा हामी चिन्तित छौ ।

गत आर्थिक वर्षमा छुट्टाईएको रकम र मापदण्ड अनुरुपको काम सम्पन्न भएकै हो र जे छ त्यही उद्घाटन गरिएको हो । आगमी वर्ष त्यहाँ के गर्नु पर्ने हो , सोचिने छ । कोही अत्तालिन पर्दैन विकास अव क्रमिक रुपले गरेरै छाड्छौं ।

प्रशंसा गर्नु पर्नेमा बदनाम गरियोः सांसद

उद्घाटन गर्न पुगेका पुर्व एमालेका नेता तथा गण्डकी प्रदेश बाग्लुङ्ग क्षेत्र नम्वर १  प्रदेश क का सांसद ईन्द्रलाल सापकोटाले कल्पना नै गर्न नसकेको कुरा सामाजिक सञ्जालमा राखिएको प्रतिकृया दिए । कांग्रेस सभापतिले माथी पक्की ट्याङकीमा उद्घाटन गरौं भन्दै हुनुहुन्थ्यो ।

आयोजकहरुले रियालिटी दिन खोजेर कार्यक्रम स्थलमा टाँगिएको चार वटा बाँसका खम्मा मध्ये एउटामा बिछाईएको पाईपमा उद्घाटनको प्रयोजनको लागि मात्र धारा फिट गरेर उद्घाटन गर्नु गरिएको हो ।   समाजको त्यो रियालिटी हामीलाई पनि ठिक लाग्यो ।

देशको विकास क्रम नै त्यस्तै छ भने किन लुकाउने ? किन जनतालाई ढाँट्ने ?  त्यस्तो काम त ढँटुवा राजनैतिक दलले मात्र गर्ने गर्छन होला । हामी गर्दैनौं । हेलिकीप्टरमा चढेर उद्घाटन गर्न  गईयो भन्न लाज लाग्दैन ? मयेर सावको गाडीमा हामी कोचाकोच भएर  गएका थियौं ।

गाडीबाट ओर्लेको देख्नै उनैहरु हुन ।  उनैले  गाडीबाट ओर्लेर स्वागत गर्ने उनैले हेलिकप्टरबाट आए भनेर सामाजिक सञ्जालमा लेख्ने ? लाज लाग्दैन ? कति दिन चल्छ जनता माथी यस्तो झुटको खेती ?   त्यहाँका जनताको समस्या र उनिहरुको योगदानको सर्वत्र प्रशंसा गरिनु पर्ने हो ।

हिसाव कितावको पारदर्शीता हेर्दा म दंग परें । त्यस्तो सवैतिर भई दिए यो देश कहाँ पुग्ने थियो होा भन्ने लाग्यो  ? केहि रकम त नगरपालिकाले दियो, त्यो भन्दा बढि जनता आफैले पैसा उठाएका छन् । पैसा भन्दा बढि जनश्रमदान गरेर घर घरमा पानी पुराएका छन ।

पक्की धारा न सहि, घर घरमा पानी त खसेकै हो नि ? त्यस्तो उदाहरणिय काम गरेका त्यहाँका जनतालाई मैले कार्यक्रम स्थलमा दिलै देखि सम्मानका शब्द बोलें तर कतिपयले तुच्छ राजनीति गरेर उनिहरुलाई कार्टुन बनाउँदै बदनाम गराउने ?

अब पहिलाको जस्तो राजनीति गरेर हुँदैन । अबको राजनीतिले नयाँ मोड लिई सक्यो । साथीहरुले सिक्नु प¥यो । हामी अरुले जस्तो खोला नै नभएको ठाउँमा पुलको योजना हाल्यौं भनेर फेशबुकमा प्रचार  गर्ने राजनैतिक दलका मान्छे परेनौ ।

जे प्रचार गरियो, त्यसबाट के बुझ्न सकिन्छ भने कोही कोहीहरु निकै अत्तालिदै छन । अत्तालिनु पदैन । सवै मिलेर जनताको सेवा गरौं । आफु सत्तामा छँदा के गरें ? भनेर समिक्षा गरियो भने बल्ल मात्र सकरात्मक सोचको विकास होला हामी त्यही अपेक्षा र शुभेच्छा ब्यक्त गर्दछौं । ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!