गुल्मीमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

Posted on: 05 Nov, 2018

कात्तिक १९, गुल्मी (रासस) | गुल्मीको मदाने गाउँपालिकामा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । श्रीमती सीताको हत्या गर्ने मदाने गाउँपालिका–६ का दुर्गाबहादुर नेपाली आइतबार पक्राउ परेका हुन् । कात्तिक १५ गते राति मान्छे नबस्ने स्थानीय राजकुमार थापाको खाली घरमा श्रीमतीलाई आफूले हानेर हत्या गरेको दुर्गाबहादुरले प्रहरीसामु बयान दिएको प्रहरीले जनाएको छ । 

तीजमा माइत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र आफूले मादकपदार्थ सेवन गरेको झोंकमा श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख र इलाका प्रहरी कार्यालय पुर्कोट दहको प्रहरी टोलीले खोजतलास गर्दा शनिबार राति धाराचौर गहुँछरे जङ्गलमा लुकेर बसेको अवस्थामा फेला पारेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिनुभएको छ । 

दुर्गाबहादुरका तीन छोरा र एक छोरी रहेका छन् । श्रीमतीको हत्या गरेपछि यतिबेला ती बालबालिका बिचल्ली भएका छन् । उनीहरूको छिमेकी ओमबहादुर नेपालीले गाउँपालिकाको सहयोगमा संरक्षण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!