बेपत्ता युवती १३ दिनपछि मृत फेला

Posted on: 08 Dec, 2018

मङ्सिर २२, पर्वत | पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो । 

उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहादी–३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिनुभयो । उक्त शव पोष्टमार्टमका लागि वालिङ पठाइएको छ । 

मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनबहादुर कुँवरले शुक्रबार बिहान ड्याममा शव भेटेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । पारिवारिक स्रोतका अनुसार मृतक श्रेष्ठले बाबुसँग पैसा मागेकीमा नपाएपछि उनी घरबाट बेपत्ता भएकी थिइन् । त्यही झोकमा उनले कालीगण्डकी नदीमा हामफालेर आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक गुल्मीको पुर्तिघाटस्थित जीवनउद्धार मावि कक्षा ११ को विद्यार्थी हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!