बिरामी बोक्ने एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी

Posted on: 03 Jan, 2020

पुष १८, गुल्मी | गाउँका कोही बिरामी परे कि त भाडाकै गाडी खोज्नुपर्छ, कि त शान्तिपुरबाट एम्बुलेन्स मगाउनुपर्छ । नियमित चल्ने सवारीसाधनमा अक्सिजन हुँदैन । शान्तिपुरबाट एम्बुलेन्स आउन डेढ घण्टा कुर्नुपर्छ । जसले गर्दा बिरामीहरुलाई निकै समस्या पर्ने गरेको छ । 

यो समस्या गुल्मीको सत्यवती गाउँपालिकाका नागरिकले खेप्दै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको दुई वर्ष भइसक्दा पनि जनप्रतिनिधिले आफ्ना नागरिकका लागि एम्बुलेन्स खरिद गर्न सकेका छैनन् । 

सत्यवती गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सातवटा स्वास्थ्य चौकी र छ वटा सामुदायिक स्वास्थ्य केन्द्र गरी कूल १४ वटा स्वास्थ्य संस्था छन् । तर तीमध्ये कुनैमा पनि एम्बुलेन्स नभएको गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्यबहादुर रानाले बताउनुभयो । कोही बिरामी परे ‘लोकल’ गाडीमा बढी भाडा तिरेर पठाउनुपर्ने बाध्यता रहेको रानाले सुनाउनुभयो । अधिकांश बिरामीहरु स्थानीय गाडीमा जाने र अत्यावश्यक परे मजुवा तथा शान्तिपुरबाट एम्बुलेन्स बोलाउने गरिएको उहाँले जानकारी दिनुभयो । 

जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र जिल्लाकै उत्कृष्ठ स्वास्थ्य केन्द्रअन्तर्गत पर्दछ । जिल्लामै पहिलो पटक सर्पदंशको जाँच तथा डेङ्युको परीक्षण जुहाङ्गमा हुन्छ । त्यसका साथै ५८ प्रकारका निःशुल्क तथा अन्य सःशुल्क गरी झण्डै ८० प्रकारका सेवा केन्द्रले प्रदान गर्छ तर हालसम्म पनि संस्थाको एम्बुलेन्स नहुँदा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ । “गाउँपालिका र मन्त्रालयमा धेरै पटक धाएँ, तर उपलब्धि शून्य छ ।” केन्द्रकी प्रमुख डा शिला ढकालले भन्नुभयो, “गाउँबाट केन्द्रसम्म ल्याउने र यहाँबाट रिफर गर्नुपर्ने बिरामीलाई निकै समस्या परेको छ ।”

सत्यवती गाउँपालिकाले गत आर्थिक वर्षमा लु१झ ४३९ नम्बरको डबल क्यापसहितको स्कार्पियो किन्यो । कूल रु ४० लाख एक हजार १७२ मा किनेको एसीसहितको स्कार्पियोमा गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललगायत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले रजाई गर्छन् तर जनताको करबाट नेतालाई गाडी किन्दा नागरिकलाई भने एम्बुलेन्ससम्म पनि खरिद गरिएको छैन । 

यस सम्बन्धमा गाउँपालिका अध्यक्ष ढकालले गत वर्ष एम्बुलेन्सको लागि गाउँपालिकाले १२ लाख छुट्याए पनि महेन्द्र कम्पनीको एम्बुलेन्स बन्द भएको कारण ल्याउन नपाएको बताउनुभयो । “पहाडी संरचनाले गर्दा अन्य गाडी चल्दैनन्, भएका दुईवटा टाटा कम्पनीका एम्बुलेन्स काम नलाग्ने भए ।” उहाँले भन्नुभयो, “बलियो गाडी खोज्दा ढिलाइ भएको छ ।” यो वर्ष प्रदेश सरकारले पनि सहयोग गर्ने आश्वासन दिएकोले एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले रु छ लाख विनियोजन गरेको ढकालले बताउनुभयो । तर, प्रदेशले सहयोग नगरेको खण्डमा अन्य आयोजनाको रकमबाट रकमान्तर गरेरै भए पनि यो वर्ष एम्बुलेन्स किन्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!