गहना लुट्न दुई बुहारी मिलेर सासूको हत्या, यसरी खुल्यो रहस्य

Posted on: 07 Jan, 2020

पुष २२, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासूको हत्या गरेका छन् । 

७६ वर्षीया कौशिला विकको हत्या उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए । उनीहरुले सुनका गहना लुट्ने योजनाका साथ सासूको हत्या गरेको डीएसपी घलेको भनाइ छ ।

पुस १७ गते गोरु फुकेको भन्दै कौशिलालाई गोठमा लगी दाउराले हानेर बेहोस बनाइ नाक र कानमा लगाएका गहना लुटेको प्रहरीको दाबी छ । तर, उनीहरुले गोरुले हानेर सासू घाइते भएको नाटक गरी छिमेकीलाई खबर गरेर उपचारका लागि गुल्मी अस्पताल पुर्‍‍याएका थिए । 

गम्भीर घाइते भएकी कौशिलालाई तम्घासमा उपचार सम्भव नभएपछि बुटलस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको यही पुस १९ गते मृत्यु भयो ।

मृतक कौशिलाको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएको डीएसपी घलेले बताए । सुनका गहना र टाउकाको विभत्स चोटबाट उनको निधन गोरुले हानेर नभई अरु नै केही कारण भएको आशंका बढेर अनुसन्धान गरी हत्याको रहस्य पत्ता लगाउन सकिएको डिएसपी घलेको भनाइ छ ।  

श्रीमान विदेशमा रहेकाले बुहारी देवी सासूसँगै बस्दै आएकी थिइन् । घटना हुने बेला मृतक कौशिलाका श्रीमान भने मासु लिन गएका थिए । त्यही मौका छोपी देवी र लक्ष्मीले सासूलाई गोठमा लगेर दाउराले हानेर बेहोस बनाएर गहना लुटेका थिए ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरुले सुनकै लागि सासुलाई लाठोले हानेको स्वीकारेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!