गुल्मीमा पहिराले घरगोठ बगायो

Posted on: 28 Jun, 2020

असार  १४, तम्घास । गुल्मीमा पहिराले घरगोठ बगाउँदा रु २५ लाख बराबरको क्षति भएको छ । गएराति गुल्मी दरबार गाउँपालिका–१ बलिथुम पीपलपोखरास्थित ६५ वर्षीय लोकबहादुर सोनारीको घरगोठ बगाउँदा उक्त क्षति भएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षाले सोनारीको घरभन्दा करिब २० मिटरमाथिबाट गएको पहिराले उनको घरगोठसहित खेती गर्दै आएको जग्गासमेत बगाएको छ । 

रातिको समयमा सोनारीका छोरा बाहिर निस्केका बेला ढुङ्गा खसेको देखेपछि परिवारका सबै सदस्यलाई उठाएर भाग्न सफल भएका थिए । मानवीय क्षति नभए पनि घरगोठ र खेती गर्दै आएको जग्गा पूर्णरुपमा पहिराले बगाएर नष्ट गरेको स्थानीय मणिराम अर्यालले जानकारी दिनुभयो । गोठमा रहेका एउटा भैँसी, एउटा दुहँुनो गाई, चार वटा बाख्रा, दुई वटा ब्याउने सँुगुर, एउटा बोकालगायत सबै गाईबस्तु मरेका छन् भने घरमा रहेको केही नगदसहित खाद्यान्न र एक तोला सुन पुरिएको छ ।  । 

विस्थापित सोनारीको पाँच जनाको परिवारलाई अहिले जनज्योति प्राथमिक विद्यालयमा व्यवस्थापन गरिएको छ । पहिरा प्रभावित परिवारलाई बलिथुम युवा क्लबले एक सेट पकाउने भाँडा दिएको छ ।

रेडक्रस र गाउँपालिकाबाट पनि सहयोग जुटाउने प्रयास भइरहेको ज्ञवालीले जानकारी दिनुभयो । सोनारीको घर नजिकै रहेका तीन घर पनि पहिराको उच्च जोखिममा रहेकाले उहाँहरुलाई पनि विद्यालयमै व्यवस्थापन गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!