बागलुङ पहिरामा हराएकामध्ये तीनको शव गुल्मीमा

Posted on: 03 Sep, 2020

भदौ १८, गुल्मी (रासस) । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति  पहिरामा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ । 

मुसिकोट नगरपालिका –५  इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा  शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिनुभयो ।  

 बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेका शवमध्ये एक बालक र अन्य दुई जना अन्दाजी ३५÷४० वर्षीया महिला भएको प्रहरीले जनाएको छ । 

उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढीपहिरामा हराइरहेका अन्य  गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ ।

बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा  बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!