पहिरो पीडितलाई राहत

Posted on: 04 Sep, 2020

भदौ १९,  तम्घास । गुल्मीको इस्मा गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत प्रदान गरिएको छ । एकीकृत ग्रामीण विकास समाज गुल्मीको संयोजन तथा केयर नेपालको सहयोगमा बिहीवार गाउँपालिकाका ६० परिवारलाई राहत प्रदान गरिएको हो । 

सबै परिवारलाई त्रिपालसहितको सेल्टर किट, सुत्नका लागि प्रयोग हुने म्याट्रिस, महिला तथा किशोरीहरुलाई आवश्यक सामग्रीसहितको डिगनिटी किट र कम्बलसहितको हाइजिन किट प्रदान गरिएको हो । छत्तीस घर पूर्ण क्षति भएका र उच्च जोखिमका तीन घरधुरीलाई राहत प्रदान गरिएको एकीकृत ग्रामीण विकास समाजअन्तरगत रहेको सु–आहारा गुल्मीका फिल्ड संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

गत असार १८ गते र साउन ६ गते गएको पहिरोले इस्मा गाउँपालिका वडा नम्बर १ मा ३३, वडा नम्बर २ मा तीन, वडा नम्बर ४ मा २२ तथा वडा नम्बर ६ मा दुई घर विस्थापित भएका थिए । विस्थापित परिवार कोही अरुको घरमा, कोही विद्यालय तथा केही परिवारले अन्यत्रै अन्य ठाउँमा अस्थायी बसोबासको प्रबन्ध मिलाएका छन् । संस्थाले प्रत्येक परिवारलाई रु १० हजारका दरले गाउँपालिकामा कुल रु छ लाख बराबरको सामग्री प्रदान गरेको संस्थाका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!