बिपी प्रतिष्ठानमा २० कोरोना सङ्क्रमितको जटिल शल्यक्रिया

Posted on: 17 Jun, 2021

असार ३, धरान (रासस)। कोभिड-१९ महामारीको दोस्रो लहर शुरु भएयता एक महिनाको अवधिमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २०  कोरोना सङ्क्रमितको शल्यक्रिया भएको छ ।  

ती शल्यक्रियाहरु जटिल किसिमका रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा।चुडामणी पोखरेलका अनुसार कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएयता गत वैशाख २७ गतेदेखि प्रतिष्ठानको कोभिड अस्पतालमा शल्यक्रिया शुरु गरिएको थियो । जेठ अन्तिमसम्म २० वटा शल्यक्रिया भएको छ ।  

प्रतिष्ठानका न्यूरो सर्जन डा।आलोक दाहाललगायतको टोलीले तीन वटा न्यूरोसम्बन्धी जटिल शल्यक्रिया गरेको छ । टोलीले अचेत अवस्थामा आएका, आँखा खोल्न नसकेका, टाउकोमा रगत जमेका र हातखुट्टा नचलेका बिरामीहरुको सफल शल्यक्रिया गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जनरल सर्जरीबाट प्रा।डा।राकेश गुप्ता, डा।सुरेशप्रसाद साह, डा निर्मल साह, डा।रुपेश प्रसाद साह, डा। भवानी खनाल, डा। विजय श्रेष्ठलगायत चिकित्सक टोलीले सात वटा जटिल किसिमका शल्यक्रिया गरेका छन् । तीमध्ये चार वटा सानो आन्द्राको, दुईवटा एपेन्डिक्सको र एक वटा ठूलो आन्द्राको शल्यक्रिया भएको सहप्रवक्ता डा।पोखरेलले जानकारी दिनुभयो । 

यसैगरी प्रतिष्ठानका कार्डियो भास्कुलर सर्जन डा। लोकेश शेखर जैसवाल तथा जेनेरल सर्जन डा। सुरेश प्रसाद साहको टोलीले १२ इन्च लामो रडले करङको हाडलाई छेडेर फोक्सो र मुटुमा चोट पुर्याएका सङ्क्रमित बिरामीको पनि जटिल शल्यक्रिया गरेको थियो । त्यसैगरी प्रतिष्ठानको नाक, कान, घाँटी विभागका डा। शंकरप्रसाद साह र डा। ऋषिराज साहको टोलीले एक जना सङ्क्रमित बिरामीको घाँटीमा अड्किएको हड्डी सफलतापूर्वक निकालेको प्रतिष्ठानले जनाएको छ ।  

प्रतिष्ठानका अनुसार गाइनो विभागका चिकित्सकहरुले सङ्क्रमित बिरामीहरुको आठ वटा शल्यक्रियामार्फत डेलिभरी गरिएको थियो भने ९ वटा नर्मल डेलिभरी गरिएको थियो । तीमध्ये पाँच वटा डा। दिप्ती दास, दुई वटा डा। मदन खड्का र एक वटा डा। मनोज साहले गर्नुभएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!