पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २००४ जना, १६ जनाको निधन

Posted on: 02 Sep, 2021

भदौ १७, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन दुई हजार चार जनामा देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन् ।

सङ्क्रमणबाट निको भई आज एक हजार ८४६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २१ हजार १८२ जना निको भई घर फर्किएका हुन् । बुधबारको तुलनामा निको हुने दर बढेको छ । हिजो ९४.१ प्रतिशत निको हुने दर रहेकामा बढेर ९४.२ प्रतिशत पुगेको छ । 

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ । बुधबारभन्दा आज निधन हुनेको सङ्ख्यामा कमी आएको हो । हिजो २० जनाको सङ्क्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ७८६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६३.५ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । 

यस्तै ५४४ जना सघन उपचार कक्ष, १६६ जना भेन्टिलेटर, ३१ हजार ६१९ होम आइसोलेसन,  दुई हजार ३२७ जना संस्थागत आइसोलेसन र ३०२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ । ५०० भन्दाबढी सङ्क्रमित हुने जिल्ला १९ वटा रहेका छन् । आज एक लाख १७ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!