सुत्केरीको हेलिकोप्टरबाट उद्धार

Posted on: 16 Jun, 2018

रेशमराज रोकाया | असार २, हुम्ला | जिल्लामा एयरएम्बुलेन्सद्धारा सुत्केरी महिलाहरुको उद्धार गरिएको छ । शुक्रवार राती १० बजे सुत्केरी व्यथाले लागेर सुुत्केरी हुन नसकेकी चंखेली गाउँपालिका ३ मेखाला गाउँकी २४ वर्षीय कल्पना रोकायाको हेलिकप्टरबाट उद्धार गरिएको हो । नजिक रहेको सुविधाजनक बर्थिङ्ग सेन्टर नभएको र स्वास्थ्यकर्मी नहुँदा जिल्ला अस्पतालमा उद्धार गर्नु परेको हो ।

सुत्केरीमा समस्या देखिए पछि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रञ्जित कुमार यादवको पहलमा सुत्केरी महिलाको उद्धार भएको सुत्केरीका श्रीमान कल बहादुर रोकायाले जानकारी दिएका छन । हेलिकप्टरबाट उद्धार गरिएकी कल्पना रोकाया जिल्ला अस्पताल हुम्ला सामान्य रुपमा सुत्केरी भई सकेको जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर रञ्जित कुमार यादवले जानकारी दिएका छन ।

हुम्लामा सुत्केरीको समस्या र महिलाको कठिनाईको बारेमा सुरुमा जानकारी नगराएर अन्तिममा मात्र सूचना गर्ने परिपाटीले महिलाको स्वास्थ्यमा समस्या आउने गरेको डाक्टर यादवले बताए । गाउँमा सुत्केरी गराउने प्रयास गर्दा पनि सुत्केरी हुन नसेको कल्पनाका श्रीमान कल बहादुर रोकायाको छ । 


यस अघि हुम्लामा सुत्केरी हुन नसकेका कर्णालीका महिलालाई हवाई एम्बुलेन्स सुविधा पाईन्छ भन्ने थाहा नभएको भएता पनि कारोबार दैनिक र अन्य सञ्चारका माध्यमले यसलाई जोडदार रुपमा उठाउँदा हाल हुम्लाका ग्रामिण वस्तीमा सूचना प्रवाह हुँदा बेलैमा सुत्केरी महिलाको उद्धार हुने गरेको छ । हुम्लाका ७ वटा स्थानिय तहमा हाल यस्ता जटिल खालका सुत्केरी महिलाको लागि प्रशुती गराउन सकिने स्वास्थ्य चौकी नहुँदा महिलालाई समस्या हुने गरेको छ । 

सिमिकोटमा हाल उद्योग वाणिज्य संघको अगुवाईमा हावाई भाडामा महँगी भएको भन्दै विरोध स्वरुप २ दिन यता विमानस्थल बन्द हुँदा विमानस्थलमा १२ वटा हेलिकोप्टर चल्न सकेका छैनन भने विरामी र अन्य अति आवश्यक काम परेका कर्मचारी, स्थानियलाई जिल्ला बाहिर जानको लागि समेत समस्या भएको छ । बन्दा हुँदा पनि हवाई एम्बुलेन्सलाई भने निर्वाध सञ्चालन गर्न दिईएको छ । तर जिल्ला भन्दा बाहिर कठिन अवस्थामा भएका विरामीको लागि भने हेलिकोप्टर चाटर्ड गर्न आर्थिक हिसाबले नसकिने र नियमित हवाई उडान नहुँदा हवाईजहाज यात्रा गर्न नपाउँदा हाल समस्या भएको विरामीले बताउने गरेको छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!