मुगु–हुम्ला लिङ्क रोड निर्माण गरिँदै

Posted on: 25 Apr, 2018

वैशाख १२, सुर्खेत । मुगु–हुम्ला जोड्ने लिङ्क रोडको निर्माण जिम्मा बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी)ले लिने घोषणा गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार भएको कार्यक्रममा उक्त रोड निर्माण गर्ने घोषणा डिएफआईडीले गरेको हो । ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण अन्तर्गत बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) ले मुगु–हुम्ला जोड्ने लिङ्क रोड निर्माण गर्ने उद्घोष गरेको हो ।

६५ किलोमिटर लामो यो सडकले मुगुको रारा–छायाँनाथ नगरपालिकाबाट–हुम्लाको चंखेली गाउँपालिकाको देउली गाउँलाई जोडिने डिएफआईडी एशिया विभागका निर्देशक रिचर्ड मोंत्गोमेरीले जानकारी दिए । उनका अनुसार यो सडक निर्माण भएपछि स्थानीय जनताका भावी सन्ततीको सर्वाङ्गिण विकासका लागि सहयोग पुग्ने अपेक्षा छ । बेलायत सरकारको २ अर्ब २४ करोड लागतमा निर्माण हुन लागेको यो सडकले भौतिक पूर्वाधारमा कमजोर रहेको कर्णाली प्रदेशको विकासमा टेवा पुग्ने अपेक्षा कर्णाली प्रदेशकका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

उनले हिमालका दुई जिल्ला जोड्ने लिङ्क रोड निर्माणपश्चात ग्रामीण भेगका नागरिकहरुलाई आवतजावतमा सहजता हुने उल्लेख गरे । बाह्य लगानीविना प्रदेशको सर्वाङ्गिण विकास हुन नसक्ने भन्दै सरकारले निती निर्माण गरेर बाह्य लगानी भित्र्याउन लगानीमैत्री र सुरक्षाको प्रवन्ध गरिदिने आश्वासन समेत मुख्यमन्त्री शाहीले दिए । बेलायत सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम सन् २०१३ बाट सञ्चालनरत छ । मुगु, हुम्ला, कालिकोट र बाजुरामा नयाँ सडक निर्माणको घोषणा र जुम्ला तथा दैलेखसहित १० जिल्लाहरुमा स्थानीय सडकहरुको मर्मत सम्भार भइरहेको डिएफआईडीले जानकारी दिएको छ ।


सडक निर्माणपश्चात ग्रामिण क्षेत्रका व्यापारिक मार्ग मुगु–हुम्लालाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने आधार तय गर्ने विश्वास कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाको छ । भौतिक पूर्वाधारको विकास नगरेसम्म अन्य क्षेत्रको विकास गर्न नसकिने भएकाले सरकारले बाह्य लगानी भित्र्याउने खालका नीतिहरु निर्माण गर्न लागेको उल्लेख गरे ।मुगु–हुम्ला लिङ्क सडक आसपासमा जनघनत्व न्यून रहेकाले सडक निर्माणमा तीव्रता दिन मेसीन र श्रममुलक दुवै विधिको प्रयोग गरिने डिएफआईडीका नेपाल प्रमुख रुरीक मार्सडेनलेले जानकारी दिए ।

उनका अनुसार यो सडक निर्माणको क्रममा ६ लाख रोजगार दिनको सिर्जना हुनेछ भने ८ हजार परिवारको आम्दानी छ । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्री, सामाजिक विकास मन्त्री दल रावल, पर्यटन मन्त्री नन्दसिंह बुढा, कृषि मन्त्री विमला केसी,  हुम्ला जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावत, मुगु जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकाय, छायाँनाथ–रारा नगरपालिकाका मेयर हरिजंङ्ग शाही, चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाई लगायतको उपस्थिति थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!