हुम्लामा पुस्तकालय स्थापनाको लागि काठमाडौँमा फुटसल प्रतियोगिता

Posted on: 10 Sep, 2018

रेशमराज रोकाया | भदौ २५, हुम्ला | काठमाण्डौंमा रहेका जोशिला युवाको सक्रियतामा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. ८ मा रहेको निलकण्ठ आधारभूत विद्यालय, फुचाको पुस्तकालय सहयोगको लागि काठमाण्डौंमा फुटसल प्रतियोगिताको आयोजना गरिने भएको छ । कर्णाली र देशभरमा युवाको सहभागिता रहने फुटसलबाट प्राप्त हुने सबै रकम विदालयको पुस्तकालय स्थापना गर्नको लागि खर्चिने आयोजकले जानकारी गराएका छन् ।

यहि महिनाको २७ गते सम्म टिम दर्ता गर्न समय दिईएको र हाल सम्म १७ भन्दा बढी टिमले दर्ता गराईसकेको फुचा काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष हरि बुढाथोकीले जानकारी गराएका छन् । खेलमा कर्णाली लगायत देशभरका युवा क्लवको सहभागिता रहने आयोजकले जनाएका छन् । खेल भाद्र ३० गते जोरपाटी नयाँबस्तीमा रहेको ब्राईडजोन ईन्टरनेसनल स्कुलको खेलमैदानमा हुने भएको छ । खेलमा सहभागि हुने समूह मध्ये प्रथम हुनेलाई नगद २० हजार सहित प्रमाणपत्र र मेड, दोस्रो हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र र तेस्रो हुने समूहलाई नगद ५ हजार सहित प्रमाणपत्र हुने बुढाथोकीले बताउनु भयो । खेलमा दर्ता शुल्क ५ सय, फारम शुल्क १ सय र कार्डको लागि धरौटी रकम ५ सय व्यवस्थ गरिएको छ । 

हुम्लाका विद्यालयमा पुस्तकको अभावमा असल शिक्षा लिन नपाउने अवस्था नहोस् भन्नको लागि काठमाण्डौंमा रहेका युवाको सक्रियतामा यो प्रतियोगिता हुन लागेको हरि बुढाथोकीले बताउनु भयो । आगामी दिनमा पनि हुम्लाको विद्यालयको स्तरउन्नती र शिक्षाको लागि सँधै लागि पर्ने उहाँको भनाई रहेको छ । हाल हुम्लाका अधिकाँश विद्यालयमा पुस्तकालय नहुँदा नेपाल सरकारले निःशुल्क उपलव्ध गराउने पाठ्यपुस्तक बाहेक अन्य पाठ्यसामग्री अभावमा विद्यार्थीले शिक्षा लिईरहेका छन् । पुस्तकालय भन्ने कस्तो हुन्छ भन्ने नै अवधारणा विना विद्यालय शिक्षा लिन बाध्य रहेका विद्यार्थीको लागि यो काम अति नै फलदायक हुने देखिएको छ । हाल निलकण्ठ आधारभूत विद्यालयमा १ सय ४५ जना बालबालिकाले नियमित शिक्षा लिईरहेको छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!