स्वास्थ्यकर्मीले नै गाउँ निकाला गर्न सल्लाह दिएपछि १२ वर्षदेखि ओढारको बास

Posted on: 27 Jun, 2017


रेशम राज रोकाया/ असार १३, हुम्ला । सिमिकोट गाउँपालिकाको वडा नं. ८ खोल्सी गाउँको ओढारमा १२ वर्ष कुष्ठरोग लागेकै निहुँमा गोला शाहीले बस्नु परेको छ । 

बझाङ्गका धामीसँग विहे गरेका गोला शाहीको श्रीमानलाई कुष्ठरोग लागेका उनको निधनपछि माईती फर्के । उनी आफ्नो बुबाको प्राण रहँदासम्म घरमा नै ससम्मान बस्न पाएका थिए । भाई बहुरानी र गाउँलेले वास्तागर्न छाडेपछि उनी ओेढारको सहायता लिन बाध्य भईन् । 

खोल्सी गाउँ भन्दा आधि घण्टा उकालो चढेर पुगिने सो लामा खोल्सीको ओढार हाल सम्म उनको घर भएको छ । ढुँगाको ओढारमा ढुँगाको बार लगाई बसीरहेकी गोलाले नेपालगञ्ज र डडेलधुराका विभिन्न स्वास्थ्य संस्थामा उपचार गरेको भएता पनि सन्चो हुन सकेन । २ भाई र २ दाजु भएकी शाहीलाई घरमा बस्दा अरुलाई पनि सर्छ भन्दै घर परिवार लगायत गाउँले घर भन्दा टाढा राख्न दबाब दिईरहे । उनका २ छोरी नजिकै रहेको गाउँ डाँडाफयामा घरजम गरेर बसेका भएता पनि कोही भेट्न समेत आउने नगरेको उनले बताईन् । 

गाउँका वासिन्दा कुष्ठ रोग सर्छ भनेर पारीको डाँडामा आएर फर्कने गरेको पाईएको छ । विरामी भई कहिले मरिने हो गाउँलेलाई थाहा नै नहुने, सायद महिनौं दिनपछि थाहा पाए मलाई दाहसंस्कार गर्छन् कि गर्दैनन् भन्नेमा उनको मनमा शंका रहेको उनको भनाई छ । गाउँमा अझै धामी झाँक्रि लागेको विश्वास गर्नेको संख्या पनि निकै रहेको छ । खोल्सीकै बिर बहादुर शाहीले देउता लागे पछि यस्तो हुने तर्क गाउँलेले गरेको बताए । १२ वर्ष अगाडी स्थानिय स्वास्थ्यकर्मीले नै गाउँ निकाला गर्ने सल्लाह दिएपछि उनी बाध्य भएर ओढारमा बसेका हुन् ।

आफन्तले सहयोग नगर्दा जीवन झन् कष्ठकर

गोलाको श्रीमान् बितेपछि घरमा कोही भएनन् । २ वटी छोरी थिए, उनीहरु विवाह गरेर गए । माइती घरमा ४ दाजुभाई छन् । आज सम्म कोहीले केही सहयोग गर्न त परै जाओस् भेट्न समेत नआउने गरेको उनको भनाई छ । मेरो बस्ने ठाँउमा कहिले के समस्या छ भनेर सोधेका पनि छैनन् । 

उनले भनिन् जस्तो ढुङ्गा कडा छ, त्यस्तै मेरा दाजुभाईको मन कडा छ । खोल्सीगाँउका मान्छेहरुले अहिले सम्म केही सहयोग गरेका छैनन् । आफन्तले त के छ भनेर सोध्दैनन् भने गाउँलेको त कुरै नगरौं । खगालगाँउका लामा जातीका दाजुभाईहरुले चामल, नुन, तेल घिउ, कपडा, भाँडाकुँडा लगायत सहयोग गरेका छन् । जसको कारणले उनको ज्यान हाल सम्म जेनतेन चलाईरहेकी छ्न । उनले रुँदै भनिन् खगालगाँउका लामा दाजुभाईहरुले घरमै राखेर खाना पनि दिन्छन । खोल्सी गाउँ हेर्न पनि मन लाग्दैन । 

खगालगाँउमा बिहानै गएर चामल नुन तेल मागेर ल्याए खाने गरेको बताईन् । उनले पुरानो पिडालाई सहनै नसकेर भनिन् पहिला आफु ठिक हुने बेलामा घर बनाइदिएँ, आज त्यही घरमा बस्न त परै जाओस् नजिक सम्म पुग्ने वतावरण नभएको बताईन् । 

यो ठाँउमा पहिला गाँउका एक जना काला दाई बस्नु हुन्थ्यो । काला दाईको मृत्यु पछि घुम्दै घुम्दै आए त्यही ओढारमा बसँे हाल १२ वर्ष भयो दाई भाई आफन्त भेट्न नआउँदा दःुख लाग्छ । कहिले काहीँ मनले मान्दैन, जन्मेको घर आफन्त भेट्न मन लाग्छ अनि माईत जान्छु, माइतीले खाना पानी टाढैबाट हुत्याएर दिने गरेको उहाँको अनुभव रहेको छ । नजिकै रहेको विद्यालयका पानी  भर्न समेत दिईँदैन 

कुष्ठरोग लागेकै कारण उनको बस्न्े ओढार नजिक रहेको सत्य प्रा.वि. खोल्सीमा रहेको खानेपानीको धारमा पानी समेत भर्न दिईँदैन । विद्यालयको धारामा पानी भर्न गएमा अरुलाई रोग सर्ने भन्दै त्यहाँका शिक्षक विद्यार्थीले लखेट्ने गरेको बताईन् । हाल उनी २० मिनेट टाढाको सानो धमिलो कुवाबाट पानी ल्याएर खाने गरेको बताइन् । खानेपानी भर्ने भाँडा साना छन्, गाँउबाट मागेर ल्याएको अन्न बाट गुजार चलाउदै आएकी गोलाले कतिपय रात आफू भोगै सुत्ने गरेकी बताइन् ।

आखिर स्वास्थ्यकर्मी नै गाउँ निकाल्न उद्यत, स्वास्थ्य चौकी वेखबर

कुष्ठरोगको उपचार निशुल्क हन्छ भन्ने गोलालाई कुनै जानकारी छैन । नजिकै रहेको स्वास्थ्य चौकीमा काम गर्ने कर्मचारीलाई पनि यसको कुनै जानकारी छैन । वर्षौंदेखी स्वास्थ्य संस्थाका कर्मचारीले मासिक, त्रैमासिक, वार्षिक प्रतिवेदन जिल्ला स्वास्थ्य कार्यालयलाई दिने गरेको भएता पनि गोला शाही यस्ता खालका रोगी हुन् भन्ने उनीहरुको प्रतिवेदनमा समावेश गरेको पाईँदैन । त्यसो उनी अस्पताल सम्म जान सक्ने भए पनि उनका परिवारले चासो नदिएको बताइन् । 

अस्पतालमा नाम लेखाउनको लागि १० रुपैयाँ लिनको गरेको र उनीसँग सो रकम नहुँदा समस्या परीरहेको बताईन् । उनको नाममा गा.वि.स. ले हाल वृद्धा भत्ता त दिन्छ त्यो भत्ता उनी सामु नपुगेको समेत उहाँले बताईन् सायद भत्ता आफ्ना माईतीले लिएको हुन सक्ने बताईन् । 

यता जिल्ला स्वास्थ्य हुम्ला प्रमुख डाक्टर स्मृति महतले यस सम्बन्धमा आफुलाई जानकारी समेत नभएको बताइन् । जिल्ला आफूहरुलाई थाहा भएका  ५ जना कृष्ठरोगीहरुलाई उपचार गरिसकेको बताइन् । त्यहाँ नजिकै रहेको स्याँडा स्वास्थ्य चौकीमा खडानन्द बस्नेत ईन्चार्ज रहेको भएता पनि उहाँले आफुलाई कहिल्यै कुनै प्रतिवेदनमा उल्लेख नगरेको र मौखिक रुपमा पनि जानकारी नगराईएको बताउनु भयो ।

 उपचारका क्रममा जिल्ला बाहिर पठाइएका विरामी मध्ये एक जना लाई पुरा उपचार पाएर सन्चो भइ घर समेत फर्किसकेको उहाँको भनाई छ । एक जना १७ वर्षको रोगी देखिएकोले उहाँको उपचार भइरहेको बताईन् । खोल्सीको बिरामीको बारेमा आफन्तहरुले जानकारी गराए पछि  निशुल्क उपचार गर्न सकिने उहाँको भनाई छ । अहिले सम्म आफुलाई जानकारीमा आए अनुसार हुम्लामा ५ जना कुष्ठरोगका बिरामी देखिएका छन् । 

१२वर्ष अगाडी आफुलाई कुष्ठरोग लागेको भए पनि गाउँमा आफन्तसँगै बस्ने गरेको भएता पनि त्यतीखेर एक जना स्वास्थ्य कर्मीले गाउँबाट टाढा राख्न सल्लाह दिए । अरुको सम्पर्कमा रहे अरुलाई कुष्ठरोग सर्ने बताए पछि उनी ओढारमा पुग्नु पर्यो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!